हेटौँडामा ४९ जनाले लिए उम्मेदवारी फिर्ता – Nepal Press

हेटौँडामा ४९ जनाले लिए उम्मेदवारी फिर्ता

हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

३ जना मेयरका उम्मेदवार र २ जना उपमेयरका उम्मेदवार सहित ४९ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।

पाँच दलीय सत्ता गठबन्धनमध्ये जसपा नेपालले मेयर र उपमेयर दुवैमा उम्मेदवारी दिएको थियो । जसपाले उम्मेदवारी दिएपछि हेटौँडामा गठबन्धन तोडिएको भन्ने चर्चा चल्न थालेको थियो ।

हेटौँडाको मेयर पदमा उम्मेदवारी दिएका जसपा नेपालका दीपा लामाले उम्मेदवारी फिर्ता लिएकी छिन् ।

त्यसै गरी नेपालका लागि नेपाली पार्टीका सुकुन्द प्रसाद आचार्य र स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी सुरक्षा रिजालले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै हेटौँडाको उपमेयर पदमा उम्मेदवारी दिएका जसपा नेपालका हरिहर खतिवडा र नेकपा एकीकृत समाजवादीकी मखकुमारी तिमल्सिनाले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत शर्माले बताए ।

हेटौँडामा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका १८ जना वडा अध्यक्षका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसै गरी महिला सदस्य पदका उम्मेदवार ५ जना, दलित महिला सदस्य पदका उम्मेदवार ६ जना र खुल्ला सदस्य पदका १५ जना उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको शर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर