एकिकृत जनक्रान्तिका सहिद परिवारको विप्लवलाई प्रश्न- १२ जनाको हत्या केका लागि थियो ? – Nepal Press

एकिकृत जनक्रान्तिका सहिद परिवारको विप्लवलाई प्रश्न- १२ जनाको हत्या केका लागि थियो ?

काठमाडौं । एकिकृत जनक्रान्तिका सहिदका परिवारले नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई १२ जनाको हत्या के का लागि भन्दै प्रश्न गरेका छन् ।

पार्टी महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड पार्टीको निर्णय विपरित निर्वाचनमा होमिएपछि विरोध गरेका सचिवालय सदस्य धमेन्द्र बास्तोला र हेमन्द्रप्रकाश ओलीलाई जिम्मेवारीमुक्त बनाउने निर्णयपछि आक्रोशित शहिद परिवारले यस्तो प्रश्न गरेका हुन् ।

कृष्णप्रसाद भण्डारीकी जीवनसंगिनी पुनमाया डङ्गोल प्रज्वल शाहीका बहिनी मनीषा शाही र कलशा शाही, गोकुल रानामगरका दाई सुरेन्द्र राना, विभुराम विकी जीवनसंगिनी बिना सुवर्णकार र रामकमार श्रेष्ठकी आमा मीनामाया श्रेष्ठ लगायत शहिद परिवारका पाँच जना आफन्तले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै १२ जनाको हत्या के का लागि थियो भन्दै विप्लव–प्रकाण्डसँग जवाफ मागेका छन् ।

‘सामान्य बन्दको कार्यक्रममा बमको प्रयोग के थियो ? वा बमबारे केही पनि नजानेका मानिसलाई बम किन भिराइयो ? वा नेताका आफन्त किन प्रयोग हुँदैनन् यस्ता कार्यक्रममा ? भन्दै विज्ञप्तीमार्फत विप्लव र प्रकाण्डलाई प्रश्न गरेका छन् । विप्लवले दुई जना नेतामाथी गरेको कारवाहीले क्रान्ति आन्दोलनमा ठुलै कुठाराधात गर्नुका साथै गम्भिर प्रकारको धोका भएको भन्दै अझै पनि उनिहरुले सच्चिन विप्लव र प्रकाण्डलाई आग्रह गरेका छन् ।

एकीकृत जनक्रान्तिको यात्रामा होमिएका हजारौं जनता,नेता–कार्यकर्ताको सपनामाथि विप्पलवले कुठाराघात गरेको आरोप उनीहरुको छ ।

पार्टीमा देखिएका समस्यालाई छलफल र बहसबाट भागेर पार्टीको महासचिवले पार्टी विघटनको घोषणा गर्नु आपत्तिजनक मात्रै भएनर आफ्नो लक्ष्य, विचार र आन्दोलनबाट भागेको पुष्टि भएको पनि उनीहरुले बताएका छन् । उनीहरुले सहिद परिवारको दृष्टिमा यो अक्षम्य अपराध भएको पनि बताएका छन् ।

विप्लवको संसदीय फोहोरी खेलमा गएर नेकपा विघटन गर्ने चुनावी प्रस्तावले सबै कुरा सडकमा ल्याइदिएको उनीहरुको भनाई छ ।

‘यो प्रक्रियामा हामीले हाम्रा परिवारका १२ प्रियजन गुमायौं । परिवारको सपनालाई समाज र देश बदल्ने उच्च चाहना राखेर एकीकृत जनक्रान्तिको मैदानमा होमिएका हाम्रा प्रियजन सपनाको बाटोमा केही पाइला नटेक्दै सामान्य सङ्घर्षमा गुमाउनु पर्दाको पीडालाई शब्दमा व्यक्त गर्न सकिदैन । सुन्दर सपना बोकेका कलिला अनुहार क्षणभरमै काठमाडौँका गल्लीबाट क्षतविक्षत शरीर र मासुका टुक्रा बलुटेर पशुपति आर्यघाट पुग्दै गर्दा टुक्रा परेका लाससँग हामीले प्रतिबद्धता गरेका थियौं–हामी पार्टीको यो बाटोमा साथ दिनेछौं । हामीले हाम्रो पार्टीलाई अभिभावक ठान्यौँ । घटनाबारे थुप्रै शङ्का, प्रमाण, विमति पार्टीभित्र राख्यौँ । यस्ता प्रश्न उठाउँदै गर्दा देश र राष्ट्रका लागि बलिदान भयो भन्ने विचारको उच्चताले जितिरह्यो । तर ३ बुंदे सहमतिपछि नेकपामा देखिएको परिवर्तनले शङ्का थुप्रै जन्मिए । अन्ततः विप्लवको यही संसदीय फोहोरी खेलमा गएर नेकपा विघटन गर्ने चुनावी प्रस्तावले सबै कुरा सडकमा ल्याइदियो ।’

उनीहरुले विप्लव र प्रकाण्ड नसच्चिने हो भने राजनीतिक अपराधलाई सहिद परिवारले काँध थाप्न नसक्ने कुरा स्पष्ट पार्दै अब आफुहरुले आशा गरेका विप्लव–प्रकाण्ड नरहेकाले सहिद परिवार क्रान्तिको झन्डा उठाउन नेकपाका क्रान्तिकारी नेता–कार्यकर्तालाई अपिल गर्नुका साथै आफ्ना प्रियजनको सपना सडकमा नसुकाउन हातेमालो गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर