भरतपुरमा विजय सुवेदीलाई भोट माग्न ओली जाने, २६ गते एमालेको आमसभा – Nepal Press

भरतपुरमा विजय सुवेदीलाई भोट माग्न ओली जाने, २६ गते एमालेको आमसभा

भरतपुर । नेकपा (एमाले) ले भरतपुर महानगरपालिकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा वैशाख २६ गते चुनावी आमसभा गर्ने भएको छ ।

वैशाख २६ गते भरतपुर बसपार्क परिसरमा महानगरस्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले भरतपुर महानगर निर्वाचन प्रचार समिति संयोजक तेजेन्द्र खड्काले जानकारी दिए ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा व्यापक जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, खड्काले भने । त्यसअघि भरतपुर महानगरका विभिन्न चार वटा स्थानमा क्षेत्रीय सभा गरिने प्रचार समितिले जनाएको छ ।

समितिका सचिव हरिप्रसाद पोखरेलका अनुसार बैशाख १८ गते दिउसो १ बजे वडा नं १४ शिवनगर, २० गते दिउसो १ बजे जयनगर, २२ गते दिउसो १ बजे चनौली, २४ गते दिउसो १ बजे पर्साढापमा क्षेत्रीय चुनावी सभा हुनेछ ।

भरतपुर महानगरमा मेयर पदको लागि एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् । एमाले-राप्रपा तालमेलपछि उपमेयरमा राप्रपाबाट हिमला गुरुङ छन् । सुवेदी र गुरुङले हाल संयुक्तरूपमा चुनावी घरदैलो गरिरहेका छन् ।

यसैबीच नेकपा (एमाले) भरतपुर महानगर प्रचार समितिले भरतपुरमा एमाले उम्मेदवारहरूको पक्षमा जनलहर व्यापक रहेको भन्दै जीत सुनिश्चित रहेको निष्कर्ष निकालेको छ ।

समितिको आज बसेको बैठकमा संयोजक तेजेन्द्र खड्काले भरतपुरमा एमाले उम्मेदवारप्रति आकर्षण दिनानुदिन बढेको उल्लेख गरे । पार्टीले जनतामाझ लगेको एजेन्डा र अघि सारेका उम्मेदवारका व्यक्तिवका कारण जनआकर्षण बढ्दै गरेको खड्काले बताए ।

‘महानगरको विकास र समृद्धिका लागि पनि एमालेसँग नै आशा बढी छ, मेयर उम्मेदवार विजय सुवेदीसहित अन्य उम्मेदवारहरूको व्यक्तित्व पनि आकर्षक छ । जित निश्चित देखिएको छ’, खड्काले भने ।

बैठकले पार्टीका उम्मेदवारहरुको प्रचारप्रसारलाई थप व्यवस्थित र अझ प्रभावकारी बनाउने निर्णय गरेको समितिका सचिव हरिप्रसाद पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर