सडकमा फेरि थुप्रियो फोहाेर – Nepal Press

सडकमा फेरि थुप्रियो फोहाेर

काठमाडौं । पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन कार्य पुनःरोकिएको छ ।

पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौँ उपत्यकाको नागरिकले भोग्नुपरेको छ । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको हो ।

हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण विगत ६ दिनदेखि सडकमै फोहाेर रोकिएको छ ।

अठार स्थानीय तहको फोहाेर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताइन् । उनका अनुसार २०७० सालदेखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहाेर विसर्जनमा अवरोध हुँदै आएको छ ।

‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’ राईले भनिन्, ‘त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।’ उक्त स्थान भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहाेर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन स्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाउँदै आएको छ ।

गत फागुन र चैत महिनामा मात्रै ३२ दिन फोहाेर व्यवस्थापन हुन सकेको थिएन । वर्षाको समय नजिक आइसकेको र यसरी फोहाेर व्यवस्थापन हुन नसक्ने हो भने ठूलो समस्या आउने देखिएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहाेर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहाेर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहाेर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहाेरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर