गठबन्धनको निर्देशन झापामा अमान्य, एमाले र राप्रपासँगको तालमेल नतोड्ने स्थानीय नेताको भनाइ – Nepal Press

गठबन्धनको निर्देशन झापामा अमान्य, एमाले र राप्रपासँगको तालमेल नतोड्ने स्थानीय नेताको भनाइ

काठमाडौँ । शुक्रबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँचदलीय बैठकले गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गरेको छ ।

पाँचदलका शीर्ष नेताहरूको बैठकले गठबन्धनबाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय पनि गरेको छ ।
तर, झापाको दमक नगरपालिका र कचनकबल गाउँपालिकामा भने अन्य दलसँगको तालमेल कायमै राख्ने स्थानीय नेताहरूले बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा पाँच दलीय गठबन्धनले राप्रपासँग तालमेल गरेर मेयर राप्रपालाई दिएको छ । त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका कचनकबलमा कांग्रेस र एमालेले तालमेल गरेका छन् ।

स्थानीय तहमा जो कमजोर छ कमजोरहरू मिलेर बलियोसँग लड्नका लागि कसैले रोकेर नरोकिने माओवादी केन्द्र प्रदेश १ का कोषाध्यक्ष गगन पुरीले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘दमकमा हामीहरू कमजोर र एमाले बलियो छ, एमालेलाई हराउनका लागि हामीले गरेको तालमेल केन्द्रले जे जे भने पनि भंग हुँदैन । हामीले ओलीको गृहनगरमा एमालेलाई हराउन अन्य दलहरूसँग गरिएको चुनावी तालमेल कुनै हालतमा पनि भङ्ग हुँदैन ।’

नेपाली कांग्रेस झापाका सभापति देउमान थेबेले अन्तिम समयमा आएर केन्द्रले जे निर्णय गरे पनि आफूहरू पछाडि नहट्ने बताए । उनले स्थानीय आवश्यकताका आधारमा गरिएको तालमेल कायमै रहने बताए ।

कांग्रेस सभापति थेबेले नेपाल प्रेससँग भने, ‘समय हुँदासम्म केन्द्रका नेताहरू कहाँ थिए ? अब हामी पछाडि हट्दैनौ हाम्रो चुनावी तालमेल अगाडी बढी सक्यो । एक हिसाबमा भन्ने हो भने दमक नगरपालिकामा नगर प्रमुख र केचना कवलमा गठबन्धनको उपाध्यक्षको उम्मेदवार छैन के गठबन्धनले उम्मेदवारी खाली राख्दैमा अन्य दलसँगको तालमेल भन्ने हुन्छ र ?’

कचनकबलमा कांग्रेसले गाउँपालिका अध्यक्षको उम्मेदवारी दिएको छ भने एमालेले उपाध्यक्षको उम्मेदवारी दिएको छ । यहाँ राप्रपालाई हराउनका लागि गठबन्धन सहितका दल र एमालेको चुनावी तालमेल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर