गठबन्धनको नेतृत्व गरेका देउवाले आफ्नै जिल्लामा मिलाउन सकेनन् भागबण्डा – Nepal Press
स्थानीय चुनाव

गठबन्धनको नेतृत्व गरेका देउवाले आफ्नै जिल्लामा मिलाउन सकेनन् भागबण्डा

देउवापत्नी आरजूको क्षेत्रमा पनि तनाव

कैलाली । २४ फागुनमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दल वा विपक्षी दल कसैलाई पनि गाली नगर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।

स्थानीय निर्वाचनलक्षित पार्टीको एक महिने अभियानबारे केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई प्रशिक्षण दिन सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेताहरूलाई गठबन्धन दल र विपक्षीलाई समेत निम्नस्तरका गाली नगर्न भनेका थिए । र, वैशाख ६ गते देउवाले गठबन्धन नभए कांग्रेसको हालत २०७४ को जस्तो हुनसक्ने बताएका थिए ।

‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? टुटेपछि फेरि हालत त्यहीं हुने हो । अस्ति(२०७४) के भएको थियो ?’ उनले भनेका थिए, ‘भोलि त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन । त्यस कारणले कसैसँग त गठबन्धन गर्नै पर्यो । कुनै हालतमा तोड्नु हुँदैन भन्ने साथीहरूको धारणा छ ।’

पटक–पटक दिएका यी अभिव्यक्तिले सभापति देउवा नै गठबन्धन गर्न चाहन्छन् भने पुष्टि हुन्छ । तर, अन्य क्षेत्रमा गठबन्धन गर्न दबाब दिइरहेका देउवाले आफ्नै क्षेत्रमा भने नेता कार्यकर्ता मिलाउन सकेनन् ।

अहिले देउवाकै गृह जिल्लाका पूर्व पार्टी सभापति र प्रदेशसभा सदस्य कर्ण मल्लले नेतृत्व गरेको कांग्रेस (बिपी) र एमालेबीच तालमेल भएको छ । डडेल्धुरामा एमालेसँग तालमेल गरेपछि प्रदेशसभा सदस्य मल्ललाई पार्टीले सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । पार्टीले निष्कासन गरेकै भोलिपल्टै मल्लले प्रदेशसभा सदस्यबाट राजीनामाको घोषणा गरेका छन् ।

मुलुकभरीनै गठबन्धनका जोड दिइरहेका देउवाले आफ्नै गृह जिल्लामा पार्टी मिलाउन नसकेको आरोप लागेको छ ।

‘नेपाली कांग्रेसलाई जोगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हो,’ मल्लले भने, ‘तर सभापति देउवाले सच्चा कार्यकर्तालाई गरेको अपमान र दिएको पीडाको कारण हामीले करुवा चुनाव चिह्न लिएर नेकपा एमालेसँग तालमेल गर्ने अवस्था आएको हो ।’

मल्ल समूहले नेकपा एमालेसँग तालमेल गरेर अमरगढी नगरपालिका सहितका ३ पालिका प्रमुख र अन्यमा उपप्रमुखमा तालमेल भएको छ । कांग्रेस बलियो भएका क्षेत्रमा पनि मल्ल र एमालेको तालमेल भएपछि कांग्रेसलाई धक्का पुग्ने आँकलन गरिएको छ ।

देउवापत्नीको जिल्लामा पनि किचलो

शेरबहादुर देउवाको जिल्लामा मात्रै होइन, पत्नी आरजु राणा देउवा निर्वाचन लडेको जिल्लामा पनि कांग्रेस भित्रैको किचलो सार्वजनिक भएको छ । कांग्रेस भित्रको गुटका करण एक पालिका प्रमुख र एक उपप्रमुखमा केन्द्रबाटै हस्तक्षेप गर्नु पर्ने अवस्था सृजना भएको थियो ।

कैलालीको लम्की चुहाको प्रमुखमा प्रदेश कार्यसमितिबाट टिकट पाएका भक्त थापा र केन्द्रीय सभापति शेरबहादुर देउवाले टिकट दिएको भन्दै सुशीला शाहीले पनि उम्मेदवारी दर्ता गरेकी थिइन् । पछि शाही आधिकारिक उम्मेदवार भइन् ।

घोडाघोडी नगरपालिकाका उपप्रमुखमा पनि कांग्रेसकि रिता चौधरी र गुलिया देवी चौधरी दुवैले आफूलाई आधिकारिक उम्मेदवार भएको दाबी गरेका थिए । पछि गुलिया आधिकारिक भएको पुष्टि भयो ।

कैलालीमा कांग्रेसभित्रैको असन्तुष्टि कम नहुन नपाउँदै गठबन्धन भित्रैको असन्तुष्टि पनि चरमचुलीमा पुगेको छ । कैलालीका १३ पालिका प्रमुख उपप्रमुखमा तालमेल भए पनि यहाँका १२६ वडाहरूमा तालमेल गर्न समस्या भइरहेको छ ।

‘हिजो पालिका स्तरमा मात्रै सहमति भयो । २०७४ सालको स्थानीय तहमा जसले जितेको वडा हो, त्यहीं दलले उम्मेदवारी दिने कुरा पनि भएको थियो तर, अहिले उक्त सहमति कार्यान्वयन गर्न समस्या भइरहेको छ’ माओवादी केन्द्रका एक नेताले भने ‘पूर्ववत् सहमति कार्यान्वयन गर्न कांग्रेस अनिच्छुक देखिएको छ ।’

अहिले कैलालीका अधिकांश वडाहरूमा सबै दलले उम्मेदवारी दिएका छन् । उनीहरूले उम्मेदवारी फिर्ता लिन नमानेपछि वडाहरूमा पनि गठबन्धनका दलहरू भित्र किचलो सुरु भएको हो ।

अहिले धनगढी उपमहानगरपालिका, बर्दगोरीया गाउँपालिका, गौरीगङ्गा नगरपालिका लगायतका स्थानीय तहमा प्रमुख र उपप्रमुखमा तालमेल भए पनि वडाहरूमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भइसकेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा टिकट वितरण एकोहोरो ढङ्गले गरेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ५८ जना क्रियाशील सदस्यहरूले बिहीबार पत्रकार सम्मेलन गरी राजीनामा दिएका छन् ।

कैलालीका विभिन्न पलिकाहरु स्तरमा पनि नेता कार्यकर्ताहरुले राजीनामा बुझाएका हुन् । उनीहरूले यस अघि नै कैलालीका गठबन्धन गर्न आवश्यक नरहेको र कांग्रेस एक्लै निर्वाचनमा होमिँदा पनि नतिजाअनुकूल ल्याउन सकिने दाबी गर्दै आइरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर