ज्यान बाजी राखेर हिँड्नुपर्ने सहरका सडक – Nepal Press

ज्यान बाजी राखेर हिँड्नुपर्ने सहरका सडक

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा दुर्घटनाको जोखिम बढेको छ । बढ्दो सवारी चाप र अनुशासनको पालना नगर्दा दुर्घटनाको जोखिम बढेको हो ।

साँघुरो सडककमा बढ्दो सवारी चाप र सवारीसाधनको द्रुत गतिका कारण जेब्रा क्रसिङमै पनि पैदल यात्रुलाई बाटो काट्न समस्या हुने गरेको छ ।

जेब्राक्रसमा तीव्र गतिमा सवारी चलाउनेमा मोटरसाइकल र सार्वजनिक सवारी साधन अगाडि देखिन्छन् । पैदलयात्रु तथा सवारी साधनका लागि भनी बनाइएका ट्राफिक लाइटहरू सबै ठाउँमा नहुने र भएका पनि कतिपय स्थानमा काम लाग्ने अवस्थामा नभएका कारण सवारी चालकले पैदल यात्रुलाई पेलेर सवारी साधन चलाउने गरेका छन् ।

कतिपय स्थानमा भएका जेब्राक्रस पनि नदेखिने भएका कारण सवारी चालकलाई पैदलयात्रु पेल्न सहज भएको देखिन्छ । खाल्डाखुल्डी र धुलाम्य काठमाडौंका सडकमा गाडीको चाप अत्यधिक छ । मेटिन लागेका जेब्राक्रस र गाडीको तीब्र गति । पैदल यात्रु गन्तव्यसम्म पुग्ने हुन् कि सिधै अस्पताल भन्ने सधैँ जोखिम हुने गर्छ ।

सडकपेटीमा भएका फुटपाथ व्यापारीहरुले पनि पैदल यात्रुलाई हिँड्न असहज बनाएका छन् ।

सडक वारपार गर्दा काललाई जितेको अनुभव

सडक तन्केको छैन तर सवारीसाधन बढेको बढ्यै छन् । बाटो काटेर सडक वारपार गर्दा आफू एउटा कालबाट बँचेर आएको जस्तो भान हुने गरेको पैदलयात्रु भरत प्रसाद न्यौपानले बताए ।

जेब्रक्रसिङमा पैदलयात्रु ढुक्क भएर बाटो काट्न खोज्छन् । तर, सवारीचालकले गति कम नगर्दा यात्रु सधैं डराउनु पर्छ । ट्राफिक प्रहरी बसेको ठाउँमा जेब्रा क्रसिङमा बाटो काट्न केही सहज हुनेगर्छ । तर सबै ठाउँमा ट्राफिक बस्दैनन् । ट्राफिक नभएका ठाउँमा अधिकांश चालक नियम मिच्दै तीव्र गतिमा सवारी चलाइरहेका भेटिछन् । जेब्रा क्रसिङमा सवारी साधनले गति सीमित गर्नुपर्ने हो । उस्तै परे गाडी रोकेरै पैदल यात्रुलाई बाटो छोड्नुपर्ने हो । तर, पैदल यात्रु देखीदेखी पनि सवारी साधनले गति कम गर्दैनन् र दुर्घटनाको जोखिम हुने गर्दछ ।

सवारी चालकको जबरजस्ती र लापरवाही तथा कतिपयलाई बाटो कहाँबाट काट्ने भन्ने कुराको ज्ञान नहुँदा पनि पैदलयात्रुको ज्यान जोखिममा रहेको पैदलयात्रु कृष्ण प्रसाद शर्माको भनाइ छ ।

जेब्राक्रसमा तीव्र गतिमा सवारी चलाउनेमा मोटरसाइकल र सार्वजनिक सवारी साधन अगाडि देखिन्छन् । पैदलयात्रु तथा सवारी साधनका लागि भनी बनाइएका ट्राफिक लाइटहरू सबै ठाउँमा काम लाग्ने अवस्थामा छैनन् । यसले गर्दा पनि सवारी चालकलाई पैदलयात्रु पेल्न सहज भएको छ । सडकमा भएका जेब्रा क्रसहरुमा ट्राफिक लाइट सबैतिर नहुँदा युवाहरुलाई भन्दा पनि वृद्धवृद्धालाई झन् समस्या हुने गरेको छ । र दुवैतिरबाट गाडी आइरहेको बेला न हानी हाल्छ कि भन्ने त्रास हुने गरेको पैदलयात्री मिना गुरुङको भनाइ छ ।

अव्यवस्थित पार्किङ

जथाभावी पार्किङका कारण पनि दुर्घटना हुने गरेका छन् । हरेक सडकका फुटपाथमा पसल र सवारी पार्किङ भएका कारण पैदल यत्रु बिच सडकबाट हिँड्न बाध्य छन् । जथाभावी खोलिएका होटल तथा रेष्टुराँमा पाकिङ नहुनु र त्यहाँ जाने ग्राहकहरुले सडकमा सवारी साधन राखेको प्रष्ट देखिन्छ ।

अहिले काठमाडौं उपत्यकामा हरेक स्थानमा व्यवसायिक रुपमा विभिन्न महलहररु बनेका छन् तर ती महलहरुको अण्डरग्राउण्डमा समेत पार्किङ नहुँदा झनै समस्या भएको देखिन्छ ।

अनुशासन पालना हुन्नः ट्राफिक

उपत्यकामा ट्राफिकलाई देख्दा मात्र कानून मान्ने प्रवृत्तिका कारण दुर्घटना बढेका ट्राफिक प्रहरीको ठम्याइ छ । जेब्राक्रसिङमा सवारी साधनको गति कम गर्नुपर्ने नियम रहेकोे महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासको भनाइ छ । ट्राफिक लाइट भएको स्थानमा मान्छेहरुले अव हरियो बत्ती बल्छ भनरे अन्तिमको पाँ सेकेण्ड अगाडि हतार गरेर हिँड्ने भएका कारण पनि दुर्घटना बढेको उनको भनाइ छ ।

पर्खिन सक्ने क्षमता कम भएर या हतार गरेर दुर्घटना बढेका उनले बताए । दुर्घटनाको जोखिम न्यूनीकरणका लागि उपत्यकामा एक हजार ५४५ जना ट्राफिक प्रहरी खटिरहेको उनले बताए । ट्राफिक लाइट भएका स्थान तथा अन्य चोक तथा सवारी चाप हुने ठाउँहरुमा अहिले ट्राफिक खटिरहेको उनको भनाइ छ ।

उपत्यकामा हाल दैनिक एक हजार ८ सय देखि दुईहजार सवारी साधनलाई ट्राफिक नियम उलंघन गरेका कारण प्रहरीले कारवाहि गरिरहेको छ । उपत्यकामा दैनिक रेडलाईट उलंघन, लेन नियम नमान्ने जस्ता ट्राफिक नियम उलंघन गर्नेहरुको संख्या बढी रहेको उनले बताए ।

यसरी नियम उलंघन गर्ने सवारी साधनबाट मात्रै काठमाडौं उपत्यकाका तीन जिल्लामो दैनिक १५ लाख राजश्व उठ्ने गरेका ट्राफिक प्रहरी प्रवक्ता दासले बताए ।

ट्राफिक प्रहरीले जथाभावी बाटो काटेनेहरुलाई पनि चेतनामूलक सन्देश दिइरहेको छ । काठमाडौं उपत्यकमा हालसम्म २९० स्थान भन्दा बढी स्थानमा जेब्रा क्रसिङ छन् । उपत्यकाका ३९ स्थानमा ट्राफिक लाइट रहेका र अन्य स्थानमा पनि धमाधम ट्राफिक लाइट जडानको काम हुँदै गरेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर