कारबाहीकाे तयारीपछि एमालेका बागीद्वारा उम्मेदवारी फिर्ता – Nepal Press

कारबाहीकाे तयारीपछि एमालेका बागीद्वारा उम्मेदवारी फिर्ता

रुपन्देही । अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा पार्टी निर्णयविपरीत उम्मेदवारी दिएका निवर्तमान पालिका अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य बालकृष्ण आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् ।

एमाले जिल्ला कमिटीले पार्टी सदस्य नरहने गरी कारबाही गर्ने तयारी गरेपछि आचार्यले उम्मेदवारी फिर्ता गरेका हुन् । एमाले जिल्ला प्रचार विभाग प्रमुख सोभाखर पन्थीले नेताहरुसँगको सहमतिमै आचार्यले विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

आचार्यले पार्टीका नेताहरुसँग कुराकानी गरेपछि असमझदारी हटेकाले उम्मेदवारी फिर्ता लिएको नेपाल प्रेससँग बताए । ‘उम्मेदवारी दिने समयसम्म केही नेताहरुले तपाईं नै उम्मेदवार हो भनेर अलमलमा पारे र उम्मेदवारी दिएको थिएँ, म पार्टीको बफादार सिपाही हुँ पार्टी निर्णयलाई मानेर अगाडि बढ्छु, एमालेका नेतालाई जिताउने अभियानमा लाग्छु’, उनले भने ।

उता एमाले जिल्ला कमिटीले भने उम्मेदवारी फिर्ता लिए पनि आचार्यलाई अनुशासनको कारबाही गर्ने तयारी गरेकाे एक जिल्ला नेताले बताए ।

पञ्चालयकालदेखि जनप्रतिनिधि रहेका आचार्यले ०५४ र ०७४ मा एमालेबाट चुनाव जितेका थिए । गत निर्वाचनमा माओवादी र कांग्रेसको गठबन्धन हुँदा जिल्लाका ६ पालिकामध्ये मालारानीमात्रै एमालेले जितेको थियो ।

अहिले एमालेले दलबहादुर भट्टराईलाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा दीपा पोखरेललाई उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर