विराटनगरलाई सुशासन र पूर्वाधारयुक्त महानगर बनाउन मसँग स्पष्ट खाका छ : शिल्पा कार्की (भिडिओ) – Nepal Press
नेपाल टक

विराटनगरलाई सुशासन र पूर्वाधारयुक्त महानगर बनाउन मसँग स्पष्ट खाका छ : शिल्पा कार्की (भिडिओ)

विराटनगर । नेकपा एमाले युवा नेतृ शिल्पा कार्की महिला उद्यमीका रुपमा परिचित नाम हो । एमालेले विराटनगर महानगरको उपमेयरमा कार्कीलाई अघि सारेको छ । उपमेयर उम्मेदवार कार्कीले आफू निर्वाचित भए पाँच वर्ष महानगरबाट तलबभत्ता, सेवा– सुविधा नलिने घोषणासमेत गरिसकेकी छिन् । २०३५ मंसिर १४ गते लहानमा जन्मिएका शिल्पाका बुवा स्व गोपालबहादुर निरला र आमा रीता निरला हुन् । फेशन डिजाइनर रहेकी शिल्पा २०६० सालमा राजनीतिमा आबद्ध भएकी हुन् ।

उनी एमाले विराटनगर महानगरको उपाध्यक्ष छिन् । फेसन डिजाइनमा डिप्लोमा गरेकी शिल्पाको विराटनगर ९ मेनरोडमा क्रिएभिड ह्यान्डल बुटिक रहेको छ । उनले अंग्रेजीमा स्नातकोत्तर गरेकी छन् ।

आसन्न स्थानीय तह चुनावमा पाँच दलीय गठबन्धनबाट उपमेयरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई अघि सारेको छ । यस अवस्थामा गठबन्धनविरुद्ध निर्वाचन लड्न अघि सरेकी शिल्पा कार्कीसँग गरिएको कुराकानी नेपाल प्रेसको नेपालटकमा ।

– तपाईले जित्ने आधारहरु के के छन् ?

अहिलेको परिस्थितिमा एकातर्फ पाँच दलीय गठबन्धन छ । त्यसैले धेरैलाई लाग्न सक्छ मलाई जीत निकाल्न निकै चुनौती हुनेछ । तर, नेकपा एमालेले प्रत्यक्ष जनतासँग गठबन्धन गरेको छ । जनताको मन जितेको छ । त्यसैले गठबन्धनसँग कुनै पनि प्रतिस्पर्धा हुँदैन । म सहज जित्ने अवस्थामा छु ।

गठबन्धनभित्रको भद्रगोलको अवस्थाले पनि त्यहाँ रहनुभएका दिदीबहिनीहरुले म महिला उम्मेदवार भएकाले पनि मलाई अवश्य भोट गर्नु हुनेछ । यतिमात्र होइन, विगत लामो समयदेखि यही विकास नगरको विकास समृद्धिसँगै समाज सेवा विभिन्न पाटोमा म जोडिएका कारण पनि सबै विराटनगरवासीको माया र आशीर्वाद मलाई रहेको छ । यसकारण मेरो जीत सुनिश्चित छ ।

– विराटनगर बनाउने विकासको खाका तपाईसँग के छ ?

विराटनगरको विकासको खाकाभन्दा मैले अहिले नै धेरै ठूलो परिकल्पना गरी सकेको छैन । विराटनगरवासीको स–साना समस्या केलाउँदै तिनै समस्यालाई पूरा गर्ने अठोट लिएको छु । सुशासनसहितको महानगर बनाउँछु । विराटनगरको विकासको जग बसिसकेको छ । पुरानो सहर विराटनगरको परिचयलाई आधुनिक र राम्रो महानगर बनाउँछु । पूर्वाधार विकासको सन्दर्भमा विज्ञहरूसहितको टिम बनाएर काम गर्ने योजना छ । विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, पूर्वाधारयुक्त महानगरका रुपमा विराटनगरलाई परिवर्तत सहर बनाउने योजना र प्रतिबद्धता दुबै मसँग छन् । सोहीअनुसार विराटनगरलाई सबै कुराले प्रदेश १ को राजधानी भन्न योग्य सहर बनाउने अठोटका साथ योजना बनाएर काम गर्नेछु ।

विराटनगर क्षेत्रमा आवश्यक शौचालय, शौचालयमा महिलाले प्रयोग गर्ने प्याड र चेञ्जिङ कक्ष, महानगर क्षेत्रका विभिन्न सार्वजनिक स्थानमा पानीका लागि सय धारा, बालबालिकाको शिक्षा, विद्यालयमा छात्रा योजना, बालिका शिक्षाका लागि प्राथमिकता र सुविधा, अति भीड हुने सार्वजनिक सरोकारको कार्यालयमा ज्येष्ठ नागरिक, गर्भवती महिला र मातृशिशु कक्ष स्थापना गर्नेछु । यी आधारभूत आवश्यकतामामा पर्छन् ।
विराटनगर महानगरपालिका क्षेत्रमा महिलाले प्रयोग गर्ने किमिसका सार्वजनिक शौचालय नहुँदा महिला महिनाबारी भएको बखत प्याड परिवर्तन गर्न सक्ने अवस्था छैन । यी कुरामा मेरो विशेष ध्यान जानेछ ।

– विराटनगरका महिलाहरुको सबलीकरण र सशक्तीकरण गर्ने के कस्ता योजना छन् तपाईंसँग ?

मेरो उम्मेदवारी महिलाको सबलीकरण र सशक्तीकरणको लागि पनि हो । सुशासन र पारदर्शिताको सन्दर्भमा मेरो नेतृत्वले चुनौतीलाई अवसरमा बदल्न सक्छ भन्ने विश्वास छ । महिला सशक्तीकरणका कार्यक्रम, सचेतना, सुविधा र रोजगारी सृजना गर्ने मेरो मुख्य एजेण्डा हुनेछ । महिला शिक्षामा जोड दिनेछु । जसले महिला साक्षरतादर बढ्नेछ । एउटा आमा शिक्षित भयो भने परिवार अनि समाज शिक्षित हुन्छ भन्ने मान्यतालाई आत्मासात गर्दै ती महिला दिदीबहिनीहरुलाई शिक्षित बनाउनेतर्फ लाग्नेछु । अर्कोतर्फ आर्थिक रुपमा महिलाहरुलाई सशक्त बनाउनुपर्छ । अनिमात्र महिला समानता सुरु हुन्छ । तसर्थ पाँच वर्षभित्र बढीभन्दा बढी महिलाहरुलाई आर्थिक रुपमा सशक्त र शिक्षामा पहुँच स्थापित गराउने एजेण्डालाई अघि सारेर काम गर्नेछु।

– कति मतको अन्तरमा जित्छु भन्ने आँकलन गर्नु भएको छ ?

वास्तवमै मैले उपमेयरमा उम्मेदवारी दिइरहँदा मतको आँकलन गरेको छु । डाटा बनाएर योजनाबद्ध र तयारीका साथ मैले उपमेयरमा उम्मेदवारी दिएको छु । विराटनगरवासीले मलाई किन मत दिने भन्ने त्यो मेरो अहिलेसम्म समाजको योगदानका लागि मैले गरेको कामको मूल्याङ्कनको पाटो छँदैछ । उपमेयरमा जित्ने कुरामा कुनै द्विविधा छैन । म सम्मानजनक मत ल्याएर जित्छु । विराटनगरवासीको माया ममाथि छ । यतिउति मतले भन्दा पनि महानगरको उपमेयरको पदमा मेरो जीत सुनिश्चित छ ।

– विराटनगरवासीले तपाईलाई किन मत दिने ?

सर्वप्रथम म सक्षम छु । मसँग भिजन छ । महिलाहरुलाई कसरी अगाडि बढाउनु पर्छ भनेर मसँग एउटा क्लियर कन्सेप्ट छ । महिलाहरुको सबलीकरण र सशक्तीकरणको विषयसगै युवाहरुको लागि ठोस कार्यक्रमलाई अघि बढाउन म चाहन्छु । ठूलो युवा जनशक्ति अहिले पनि दुव्र्यसनीमा फसेको छ । यसतर्फ कसैको ध्यान जान सकेको छैन । उहाँहरुलाई यस्तो खालको अवस्थाबाट बाहिर निकाल्न जरुरी छ । उनीहरुलाई देश विकासमा लगाउन सकिन्छ । त्यहीअनुसार उनीहरुको लागि रोजगारी सृजना गर्नेतर्फ मेरो विशेष ध्यान जानेछ । विशेष गरी युवा, महिला, उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व म गर्छु भन्ने लाग्छ । त्यसैले मलाई भोट दिनुपर्छ र दिनुहुनेछ भने पूर्ण आशा लिएको छु ।

गठबन्धनभित्रको भद्रगोलको अवस्थाले पनि त्यहाँ रहनुभएका दिदीबहिनीहरुले म महिला उम्मेदवार भएकाले पनि मलाई अवश्य भोट गर्नु हुनेछ । यतिमात्र होइन, विगत लामो समयदेखि यही विकास नगरको विकास समृद्धिसँगै समाज सेवा विभिन्न पाटोमा म जोडिएका कारण पनि सबै विराटनगरवासीको माया र आशीर्वाद मलाई रहेको छ । यसकारण मेरो जीत सुनिश्चित छ ।

– के कस्ता कार्यक्रम लिएर घरदैलो गर्दै हुनुहुन्छ ?

घरदैलो कार्यक्रममार्फत विराटनगरवासीले भोगिरहेका जति पनि समस्या छन्, तिनै समस्या समाधान गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ । विराटनगरको ट्राफिक व्यवस्थापन, पार्किङको समस्या अरु पनि थुपै समस्या छन् । पानीको समस्या छ । महिलाहरुको असुरक्षालगायतका यावत समस्या देख्दा र सुन्दा सानो लाग्ने यी समस्यालाई हल गर्ने प्रतिबद्धतासहित विराटनगरबासीको घर÷घरमा पुगिरहेको छु ।

– अन्तमा, मतदातालाई तपाई आफूलाई कसरी चिनाउनु हुन्छ ?

विराटनगरको साधारण चेली, मसँग क्षमता छ, भिजन छ । विराटनगरलाई सुन्दर र पूर्वाधारयुक्त सहरको परिकल्पना हरेक महानगरवासीले गर्नु भएको छ, त्यो साकार पार्ने क्षमता ममा छ । मलाई विश्वास गर्नुहोस्, तपाईं महानगरवासीका सपना पूरा गर्ने अठोटका साथ म आएको छु । तपाईंहरुले मप्रति गरेको विश्वास र भरोसालाई कदाचित पनि तलमाथि हुन दिन्न । इमानदारिता र पारदर्शिताको जगमा उभिएर काम गर्नेछु ।

तपाईंहरुले दिनुभएको अमूल्य भोट खेर जाने छैन । यदि यो पाँच वर्षका दौरानमा तपाईंहरुको विश्वासलाई साकार गर्न सफल भइनँ भने म कहिल्यै पनि फेरि तपाईंहरुको घरदैलोमा भोट माग्न आउने छैन । त्यसैले विराटनगरको चेलीलाई विराटनगरको मुहार फर्ने कुरामा साथ र सहयोग गर्नुहुनेछ भन्ने मेरो पूर्ण भरोसा छ ।


प्रतिक्रिया

2 thoughts on “विराटनगरलाई सुशासन र पूर्वाधारयुक्त महानगर बनाउन मसँग स्पष्ट खाका छ : शिल्पा कार्की (भिडिओ)

  1. शील्पा कार्कीको जित सुनिश्चीत छ

  2. बिराटनगर महानगरमा शील्पा कार्कीको जित सुनिश्चीत छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर