गठबन्धन तल्लो तहसम्म लागू गर्न लागिपरेका छौं : हरि ज्ञवाली – Nepal Press

गठबन्धन तल्लो तहसम्म लागू गर्न लागिपरेका छौं : हरि ज्ञवाली

कैलाली । कैलालीमा अहिले वडास्तरसम्मै गठबन्धन गर्न सकस भइरहेको छ । १३ पालिका रहेको कैलालीमा पालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमा भागबन्डा भए पनि १२६ वडामा भागबन्डामा समस्या भएको हो ।

सहमतिअनुसार मनोनयन दर्ता नगरेपछि अहिले गठबन्धनकै दलहरूबीच पनि मित्रवत प्रतिस्पर्धा हुने भएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा तालमेल भए पनि १९ वडामा सबै दलहरू प्रतिस्पर्धामा उत्रिने भएका छन् । कैलालीका बर्दगोरियालगायतका अन्य स्थानीय तहका वडाहरूमा पनि गठबन्धनभित्रै तालमेल हुन सकेन ।

कैलालीमा किन गठबन्धनका दलहरूबीच समस्या भयो ? के यसले निर्वाचनको मत परिणाम प्रभाव पर्ला ? प्रस्तुत छ यी यस्तै विषयमा माओवादी केन्द्रका कैलाली इन्चार्ज हरि ज्ञवाली ‘अखण्ड’ सँग गरिएको कुराकानी नेपाल प्रेसकाे नेपाल टकमा :

– माओवादीले भाग पाएका वडाहरूमा पनि कांग्रेसले मनोनयन दर्ता गरेको छ । कैलालीमा अधिकांश वडाहरूमा गठबन्धन गर्न सकस भइरहेको छ । के कांग्रेसले माओवादीलाई धोका दिएको हो ?

यसलाई अहिले धोका दिएकै त नभनौं । अघिल्लो दिन गठबन्धनको छलफल भएको थियो । दोस्रो दिन नै उम्मेदवारी दिनुपर्ने अवस्था भयो । त्यो बेलासम्म सबै सर्कुलेसन कार्यकर्ताको बीचमा पुग्न सकेन ।
कतिपय ठाउँमा चित्त नबुझेको कारणले गर्दा पनि उम्मेदवारी दर्ता गरेको पाइएको छ । यस विषयमा हाम्रो छलफल भइरहेको छ । समय सीमाभित्रै हामी यो समस्या समाधान गर्छाैं । हामी गठबन्धनका दलहरूको बीचमा समझदारी गरेर अघि बढ्छौँ ।

– तपाईंहरुको सहमतिलाई कार्यकर्ताहरुले स्वीकार गर्न सकेनन् । त्यसैले बागी उम्मेदवारहरूको लर्को छ । यसले मत परिणाम प्रतिकूल त आउँदैन ?

कतिपय स्थानीय तहमा गठबन्धनका दलहरू बसेर मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । पालिकास्तरमा प्रमुख र उपप्रमुखको लागि छलफल हुन्छ । हामी गठबन्धनकै दलहरूको बीचबाट जीत सुनिश्चित गर्ने गरी अघि बढिरहेका छौं । यो कुराले पछि हामीलाई कुनै असर पर्दैन । गठबन्धनकै दलबीच छलफल गरेर समयमै समस्या हल गर्छाैं । त्यसैले नतिजामा समस्या होला जस्तो हामीलाई लाग्दैन ।

– कार्यकर्तालाई वडामा विभाजन गराएर प्रमुख र उपप्रमुखमा गठबन्धनले जित्छ त ?

पालिकास्तरमा बाँकी उम्मेदवार नै हुँदैन । दिएको छ भने पनि फिर्ता लिन लगाउँछौं । वडास्तरमा मात्रै नमिलेको जस्तो भएको हो । पालिका प्रमुख र उपप्रमुखमा त्यस्तो छैन । वडास्तरमा मित्रवत प्रतिस्पर्धा गर्दा पालिकास्तरमा प्रमुख जसले पाएको छ त्यही हुन्छ । उपप्रमुख जसले पाएको छ त्यही हुन्छ ।

– गठबन्धनको कारण मतदाताले क्रस मत दिनुपर्ने दबाब छ । यसले मत बढी बदर हुन सक्ने आँकलन पनि गरिएको छ । यसले हारजीतमा फरक पर्छ कि पर्दैन ?

कांग्रेस र माओवादी राष्ट्रिय पार्टी भएकाले चुनाव चिन्हमा समस्या हुँदैन । किनभने योभन्दा पहिले पनि यस्तो भइसकेको छ । मतदाताहरूलाई पनि यसको अनुभव भइसकेको छ ।

समाजवादी पार्टीलाई केही समस्या हुन सक्छ । उनीहरूको चुनाव चिन्ह नयाँ छ । उनीहरूले केही बढी मेहनत गर्नुपर्छ ।

– अहिले १३ स्थानीय तहमध्ये चार पालिका प्रमुखमा माओवादीले चित्त बुझाएको छ । ती पालिका पनि जीत सुनिश्चित गर्न सकस छ । कैलालीमा माओवादी कमजोर बन्दै गएको हो ?

विगतको निर्वाचनमा २ पालिकामा हामीले जितेका थियौं । धेरै पालिकाहरुमा हामी थोरै मतले दोस्रो भएका थियौं । हँसिया तारा अङ्कित चुनाव चिन्ह भएको नेकपा माले र हँसिया हतौडा भएको हामीमा धेरै झुक्किए ।

त्यो बेला माओवादी नै भन्ने सोचेर हँसिया ताराले पनि धेरै मत पाएको थियो । तर, अहिले अवस्था त्यस्तो छैन । हामी स्पष्ट रुपमा यो कुरामा पहिलेबाटै तयारी गरिरहेका छौं । हामीमात्रै होइन गठबन्धनमा रहेका दलहरू पनि यो विषयमा गम्भीर छौं । हामी सबै मिलेर चुनावी रणनीति पनि बनाइसकेका छौं ।

गठबन्धनमा रहेका दलहरूमा पनि कुनै पनि ठाउँमा गडबढ नगर्ने सहमति भइसकेको छ । थोरै वा धेरै पालिकाको बाँडफाँटको कुराभन्दा पनि अब कुनै पनि अवस्थामा गठबन्धनमा रहेका दलहरूले जित्नुपर्छ भन्ने ढङ्गले अगाडि बढिरहेका छौं ।

त्यसमा थोरै पर्‍यो, धेरै पर्‍यो । सानो पर्‍यो, ठूलो पर्‍यो भन्ने रूपले हेर्नु हुँदैन । मूलत: केन्द्रको गठबन्धन तल्लो तहसम्म लागू गर्न लागिपरेका छौं । हामीमा अहिले त्यस्तो असन्तुष्टि केही छैन ।

गठबन्धनमा अहिले उत्साह र उमङ्ग देखिँदैन । अनुकूल मत परिणाम आए गठबन्धन कायम हुने र प्रतिकूत आए भत्किने त होइन ?

गठबन्धन तोडिने केही सम्भावना छैन । हामीले मेहनत गरिरहेका छौँ । कर्तव्य पनि पूरा गरिरहेका छौं । नेता–कार्यकर्ताहरू पनि त्यसैको लागि लागिरहनु भएको छ । पार्टी सङ्गठन त्यसैको लागि चाहिन्छ । त्यसो भएको हुँदा नतिजापछि समस्या आउने भन्ने हुँदैन ।

हामी हारेपछि त्यो पार्टीले दिएन वा घात गर्‍यो भन्ने कुरा आउँदैन । सूचना आदानप्रदान गर्नुपर्छ । असमझदारीलाई हल गर्दै अघि बढ्नुपर्छ । असन्तुष्टि पालेर अघि बढ्न हुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर