रुपन्देहीमा गठबन्धनबाट जनमोर्चा बाहिरियो, कांग्रेस र माओवादीले घात गरेको आरोप – Nepal Press

रुपन्देहीमा गठबन्धनबाट जनमोर्चा बाहिरियो, कांग्रेस र माओवादीले घात गरेको आरोप

रुपन्देही । रुपन्देहीमा पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ । कांग्रेस–माओवादीले घात गरेको भन्दै जनमोर्चाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो ।

जनमोर्चाले जिल्लाका १६ वटै पालिकामा आफूहरु गठबन्धनबाट बाहिरिएको जनाएको छ । जनमोर्चाले १६ वटा स्थानीय तहमा आफूहरुले ८१ जना उम्मेदवार उठाएको जनाएको छ ।

‘सबै स्थानीय तहमा उम्मेदवारी सजिलै दिनसक्ने सम्भावना थियो, हाम्रो इमान्दारिताको कांगे्रस र माओवादीले फाइदा लिंदा सबै ठाउंमा उम्मेदवारी दिन समय पुगेन’, जनमोर्चाका रुपन्देही सचिव टानबहादुर केसीले बताए ।

सैनामैना नगरपालिकामा बिहान सहमति भएपनि दिउँसो उम्मेदवारी दिन जानेबेला मिलाउन सकिएन भन्दै कांगे्रस र माओवादीले बेइमानी गरेको जनमोर्चाको आरोप छ ।

तालमेल नहुँदा गठबन्धनलाई नै घाटा हुने राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष तथा प्रदेश उपाध्यक्ष बद्री आलमको तर्क छ । जिल्लाका ११ स्थानीय तहमा आफ्नो संगठन मजबुत रहेको जनमोर्चाको दाबी छ ।

जनमोर्चाबाहेक गठबन्धनमा कायम रहेका दलबीच पनि द्वन्द्व छ ।

राष्ट्रिय जनमोर्चाले बुटवल उपमहानगरपालिको प्रमुखमा कृष्णप्रसाद पोखरेल र उपप्रमुखमा रेनुसिंह क्षेत्रीलाई उठाएको छ । तिलोत्तमा नगरपालिकाकामा प्र्रमुख रुकबहादुर पराजुली र उपप्रमुखमा शान्ता जीसी पौडेललाई उम्मेदार बनाएको छ ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिका प्रमुखमा हिरालाल धामी र उपप्रमुखमा दुर्गा शर्मा आचार्यलाई उम्मेदवार बनाएको छ । सैनामैना नगरपालिका प्रमुखमा जयश्वर रेग्मी, कञ्चन गाउँपालिकामा प्रमुखमा लिलाबल्लव खनाल र उपप्रमुखमा उमा थापा, देवदह नगरपालिका प्रमुखमा मुक्तबहादुर मगरलाई उम्मेदवार बनाएर मैदानमा पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर