आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने तथ्यांक विभागको प्रक्षेपण – Nepal Press

आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने तथ्यांक विभागको प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्यांक विभागले सरकारलाई राहत मिल्ने गरी उक्त प्रक्षेपण सार्वजनिक गरेको हो ।

विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिकीकरण कार्यक्रममा आर्थिक वृद्धिदरको आँकलन सुनाएका थिए ।

विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको वृद्धिदर २.३ प्रतिशत रहने अनुमान गरेको छ । यस्तै, उद्योगमा १०.३ प्रतिशत र सेवा क्षेत्रमा ५.९ प्रतिशतको वृद्धिदर हासिल हुने विभागको अनुमान छ ।आर्थिक वर्ष सकिनुभन्दा करिब तीन महिना अगाडि विभागले आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो ।

अघिल्ला दुई वर्षमा कोभिडका कारण नेपालको वृद्धिदर गम्भीररुपमा प्रभावित बनेको थियो । विभागले गरेको अनुमान सही सावित भएमा अर्थतन्त्रका लागि सुखद मानिने छ । यतिबेला कोभिडको असर नगण्य भइसकेकाले अर्थतन्त्रमा थप क्षति नपुग्ने विभागले जनाएको छ ।

चालु आवमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान विभागले गरेको छ । सोही वृद्धिदर गत आर्थिक वर्षमा ३.८३ प्रतिशत मात्र थियो भने २०७६/७७ मा २.४२ प्रतिशत ऋणात्मक थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर