शेरधनको पालिकामा एमालेसँग कांग्रेसको तालमेल : १० जनालाई उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन – Nepal Press

शेरधनको पालिकामा एमालेसँग कांग्रेसको तालमेल : १० जनालाई उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन

भोजपुर । जिल्लाको दक्षिण आमचोक गाउँपालिकामा नेकपा एमालेसँग तालमेल गरी उम्मेदवारी दिएकालाई मनोनयन फिर्ता लिन नेपाली कांग्रेस भोजपुरले निर्देशन दिएको छ ।

भोजपुरको चार दलीय गठबन्धनबीच भएको सम्झौताविपरीत उम्मेदवारी दिएको भन्दै गाउँपालिका कमिटी सभापतिसहित ११ जनालाई कांग्रेसले कारबाही प्रक्रिया थालेको हो ।

कांग्रेसले आमचोक-३ का संजय राई र कुमारी राई, ४ का रमेश विष्ट र निर्मला राई, ५ का संजय राई र कौशिला नेपाली ६ का टेकबहादुर कार्की, तिर्थमाया बस्नेत, ९ का विन्द्रबहादुर श्रेष्ठ र वडा नम्बर १० का खगेन्द्र विष्टमाथि कारबाही थालेको हो ।

नेपाली कांग्रेस भोजपुरका सभापति विनोद बान्तवाले पत्राचार गर्दै भोलिसम्म उम्मेदवारी फिर्ता नगरे साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

‘आमचोक गाउँपालिकामा गठबन्धन दलबीच मात्र गठबन्धन गर्ने वा आफूआफू बीच स्वच्छ एंव मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भन्ने निर्णयबमोजिम कांग्रेसको नीति, निर्णय र निर्देशनविपरीत नेकपा एमालेसँग गठबन्धन गरी उमेदवारी दर्ता गरेको भन्ने बुझिएकाले निर्वाचन आयोगले दिएको मनोनयन फिर्ता अवधि २०७९ वैशाख १६ भित्र फिर्ता गरिसक्नुपर्ने अन्यथा पार्टी अनुशासन उल्लंघन गरेको मानी पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिने व्यहोरा जानकारी गरिन्छ ।’

सभापति बान्तवाले गठबन्धनको नीति, निर्णय र निर्देशनलाई उल्लघंन गर्दै एमालेसँग गठबन्धन गरेको भन्ने सुनिएको भन्दै के कसरी र किन गरेको भनेर पालिका सभापति रविन राईलाई २ दिनभित्र जवाफ दिन स्पष्टिकरण सोधेका छन् ।

आमचोक एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृहपालिका हो । गत चुनावमा यहाँ माओवादीबाट अशोक राईले जितेका थिए ।

अहिले गठबन्धनले आमचोकमा आ-आफ्नो उम्मेदवार उठाएर मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् । स्रोतका अनुसार यहाँ कांग्रेसले पालिका उपाध्यक्ष र केही वडा आफू राखेर एमालेसँगको तालमेलमा चुनाव लड्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर