अल्मुताइरीको सन्काहापनः रोहित चन्दको अपमानजनक निष्कासन, ९ खेलाडीको बहिर्गमन – Nepal Press

अल्मुताइरीको सन्काहापनः रोहित चन्दको अपमानजनक निष्कासन, ९ खेलाडीको बहिर्गमन

काठमाडौं । कतारी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सन्काहा व्यवहारका कारण नेपाली फुटबल एकाएक बिथोलिएको छ । बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय टिमका ९ जना खेलाडीहरू टिम छाड्न बाध्य भएका छन् ।

स्रोतका अनुसार आइतबार आफूहरू बस्ने होस्टलको विषयमा गुनासो गर्दा प्रशिक्षकले सिनियर खेलाडी रोहित चन्दलाई अपमानजनक तरिकाले टिमबाटै निष्कासन गरेका थिए । त्यसपश्चात यस विषयमा कुरा गर्न खोज्ने अन्य खेलाडीहरूलाई पनि उनले टिम छाड्न चेतावनी दिए । प्रशिक्षकको चेतावनीपछि मंगलबार राति सुजल श्रेष्ठ, अन्जन विष्ट, अनन्त तामाङ, सुमन लामालगायत ९ जना खेलाडीहरू होटलबाट बाहिरिएका छन् ।

‘जो-जो खेलाडीहरूले होटल छाडेका छन् उनीहरू कति अनुशासित छन् भन्ने कुरा सबैलाई थाहा छ । टिम छाड्ने कुरा सामान्य होइन । तर, उनीहरूले कस्तो परिस्थितिमा टिम छाडे भन्ने कुरा महत्वपूर्ण हो,’ राष्ट्रिय टोलीका एक पूर्वसदस्य भन्छन् ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई सातदोबाटोस्थित एन्फाको होस्टलमा राखिँदै आएको छ । तर, त्यहाँ राम्रो सुविधा नभएको भन्दै खेलाडीहरू असन्तुष्ट थिए । उनीहरूले आफूहरूलाई होटलमा राख्नुपर्ने माग गरेका हुन् । खेलाडीहरूको तर्फबाट सुरुमा सिनियर खेलाडीका रुपमा रोहितले प्रशिक्षकसँग कुरा राख्न खोजेका थिए ।

रोहितले बन्द शिविरका लागि खाने-बस्ने व्यवस्था सुधार गर्नुपर्ने कुरा राखेपछि अल्मुताइरी जंगिएको स्रोतले बतायो । उनले आइतबार प्रशिक्षणका क्रममा को-को खेलाडी होटलमा बस्ने र को-को होस्टलमा बस्ने भन्दै हात उठाउन अह्राए । होटलमा बस्न चाहने भनेर रोहितले हात उठाए, तर अरु खेलाडी डराएर उठाएनन् । रोहित एक्लै परे । त्यसपछि अल्मुताइरीले उनलाई ‘तिमी टिमलाई चाहिन्न’ भन्दै घर जान निर्देशन दिएका थिए । त्यसपछि निराश बनेका रोहित टिम छाडेर हिँडे ।

अचम्म के भने रोहित निष्कासन गरिएको भोलिपल्टै खेलाडीहरूलाई होटलमा सारिएको थियो । होटलमा राख्ने तयारी भइसकेका बेला अल्मुताइरीले पक्ष-विपक्षमा किन हात उठाउन लगाए भन्ने प्रश्न खेलाडीले उठाएका छन् ।

असन्तुष्टि जनाएर बाहिरिएका खेलाडीको स्थानमा प्रशिक्षकले १४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेको बुझिएको छ ।

कतार फुटबल संघको प्राविधिक सहयोगमा नेपाल आएका अल्मुताइरीले सुरूवाती समयमा टिमका हरेक खराब नतिजाको जिम्मेवारी आफूले लिने भन्दै खेलाडीलाई गाली नगर्न भन्थे । उनले ‘वन टिम वन गोल’को नारा अघि सारेका थिए ।

उनको प्रशिक्षणमा नेपाली टोली साफ च्याम्पियनसिपमा पहिलोपटक फाइनलसम पुगेको थियो । तर पछिल्लो समय उनको दबदबा बढी हुन थालेको खेलाडीहरूको गुनासो सुनिन्छ ।

केही समयअघि पत्रकार सम्मेलनमा नेपाल एसिया कपमा छनोट नहुने निश्चित भइसकेको अभिव्यक्ति दिएका अल्मुताइरीले खेलाडीलाई मिडियासँग बोल्नबाट रोक लगाएको भिडिओ सामाजिक सञ्जालहरूमा भाइरल बनेको थियो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा बिहीबार साँझसम्म केही नतिजा आउनसक्ने बताउँछन् ।

‘दिउँसो म कुरा गर्दैछु । त्यसपछि केही कुरा आउला,’ उनले भने ।

यसअघि असन्तुष्ट खेलाडीहरूले बुधबार शेर्पासँग कुरा गरेका थिए । उनले सबैसँग बुझिसकेपछि मात्र केही भन्न मिल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर