गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान – Nepal Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज नेपाल वायुसेवा निगमको ३३० एयरबसले परीक्षण उडान गर्ने भएको छ ।

निगमको विमान काठमाडौं विमानस्थलबाट आज दिउँसो ३ बजे भैरहवाका लागि उड्नेछ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि साँझ ५ बजे काठमाडौं फर्किनेछ ।

विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत २६० जनाको टोली आउने बताइएको छ । उक्त टोलीले विमानस्थलको अवस्था, भन्सार, अध्यागमन, सुरक्षालगायतको निरीक्षण र जानकारी लिनेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले परीक्षण उडानपछि अन्य मुलुकहरूले पनि चार्टड फ्लाइट गर्नसक्ने र व्यावसायिक उडानका लागि सूचना पठाउनसक्ने बताए ।

यो विमानस्थलबाट उडान भर्न सरकारले हवाई कम्पनीहरूलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी विदेशी कम्पनीले चासो देखाएका छन् । यद्यपि, व्यावसायिक उडानका लागि औपचारिक पत्र भने पठाएका छैनन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठमा बुद्ध पूर्णिमाका दिनबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ ।

अन्तर्राष्ट्रिय उडानको लागि पहिलोपटक कुवेतको जजिरा एयरलायन्सले चासो दिएको थियो । सोही अनुसार जजिराले जेठ २ देखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिइसकेको छ ।

यस्तै, नेपाल वायुसेवा, श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले पनि चासो देखाएका छन् । ७३ वर्षअघि २००६ सालदेखि सुरू गरिएको देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो बन्दै गएपछि त्यसको विकल्पको रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अगाडि बढाइएको थियो ।

तीन वर्षमा सक्ने लक्ष्यका साथ २०७१ मा शिलान्यास गरिएको यो विमानस्थल ७ वर्षपछि मात्रै निर्माण सम्पन्न भएको हो । भौतिक पूर्वाधार निर्माण र प्राविधिक उपकरण जडानको काम गरी दुई चरणमा निर्माण गरिएको विमानस्थलका लागि एसियाली विकास बैंकले ऋण अनुदान उपलब्ध गराएको हो।

चिनियाँ निर्माण कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब ८२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा विमानस्थलको भौतिक संरचना निर्माण गरेको थियो भने थाइल्याण्डको एरो थाई कम्पनीले ५० करोड लागतमा मौसम, संचार र विमानको दिशा पत्ता लगाउनेलगायतका उपकरण जडान र परीक्षणको काम सम्पन्न गरेको थियो ।

यसअघि १५ सय मिटर लामो धावनमार्ग रहेको यो विमानस्थलमा अहिले ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग निर्माण गरी शुभारम्भ समेत भइसकेको छ। विमानस्थलमा भौतिक संरचना निर्माण, उपकरण जडान, परीक्षण, विमानस्थल आसपासको जग्गा अधिग्रहणका लागि बुझाइएको मुआब्जा लगायत गरी ३० अर्बभन्दा बढी लगानी भएको छ।

विमानस्थल निर्माणको लागि आसपासका करिब २३ सय घरधुरीलाई मुआब्जा वितरणमा मात्रै २२ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ।

महाप्रबन्धक दाहालले आगामी ५० वर्षसम्मको अन्तर्राष्ट्रियस्तरको उडान र अवतरणलाई थेग्ने गरी निर्माण गरिएको यो विमानस्थलबाट अब बोइङ ७७७, एयरबस ३३० सम्मका जहाज सहजै उडान र अवतरण गर्ने बताए ।

सुरुका केहि समय दैनिक १० वटा र सन् २०३३ सम्म दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य लिइएको विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि एकसाथ प्रतिघण्टा करिब ४ सय ५० जना यात्रुले सेवा लिन सक्नेछन् ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलको क्षेत्रफल २०६१ सालसम्म जम्मा ८४ विघा ३ कठ्ठा रहेकोमा अहिले १० हजार ५ सय रोपनी पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर