भारतबाट छिमेकी बन्न आए, करिब ५ करोडको सुन टप्काए – Nepal Press

भारतबाट छिमेकी बन्न आए, करिब ५ करोडको सुन टप्काए

रुपन्देही । बुटवलमा छिमेकी बन्न आएका भारतीय नागरिकले सुनचाँदी पसलबाट करिब ५ करोडको सुन चोरेर फरार भएका छन् ।

सोमबार राति बुटवल उपमहानगरपालिका–६ स्थित बिपी चोकमा रहेको डिलबहादुर सुनारको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट यसरी यति ठूलो परिणामको सुनचाँदी चोरी भएको हो ।

पीडित व्यवसायी र सुनचाँदी व्यवसायी संघका अनुसार तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको छ । घटनाबारे सुनचाँदी व्यवसायीहरूले बुधवार मात्र पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् । सिसी क्यामेरा फुटेज हेरेर अनुसन्धान सुरु गरिएको छ ।

डिलबहादुरको पसलसँगै जोडिएको सटरमा पसल राख्न भन्दै भाडामा लिएर भारतीय व्यक्तिहरू बस्दै आएका थिए । प्रहरी र व्यवसायीले तिनै व्यक्तिहरूले चोरी गरेको आशंका छ । बिपी चोक र अमर पथ बुटवलको सबभन्दा व्यस्त हुने बजार क्षेत्र पर्छ ।

बुटवलका अधिकांश सुनचाँदीका पसल तथा बैंकहरू समेत यही स्थानमा रहेकोले बिपी चोक र अमर पथलाई सुरक्षाको हिसाबले पनि अलि संवेदनशील क्षेत्रको रूपमा लिइन्छ ।

डिलबहादुरले डा. योगेन्द्र अग्रहरीको घरको तल्लो तलाको सटर भाडामा लिएर पसल चलाइरहेका थिए । अग्रहरीको घर भाडामा लिएर उनीहरूले कपडा पसल राख्न डेकोरेसनको कामसमेत थालेका थिए । भारतीय नागरिकहरू चोरीमा संलग्न रहेको आशंका छ । कपडा पसल राख्न भाडामा लिएकै घरमा उनको सुन पसल पनि थियो ।

भारतीय नागरिक उनीहरूले घरधनी डा. योगेन्द्र अग्रहरीसँग एक वर्षको अग्रिम पैसा बुझाएर सटर भाडामा लिएका थिए ।

सटरमा रंगरोगन र अरू डेकोरेसनको काम भइरहेको थियो । उनीहरू र डिलबहादुरको देखादेख भए पनि हेलमेल हुने गरी बोलीचाली भने भएको थिएन । खाली रहेको सटरमा घरधनीले राम्रै व्यक्तिलाई व्यवसायको लागि भाडामा दिए होलान् भनेर उनी पनि ढुक्क थिए । व्यवसायीले योजनाबद्ध रूपमा चोरी गर्ने उद्देश्यले सटर भाडामा लिएको हुनसक्ने बताए ।

डिलबहादुरका अनुसार कपडा पसल चलाउने भनेका भारतीय ती व्यक्तिहरूले घरधनीलाई आधार कार्ड बुझाएर भाडा सम्झौता गरेका थिए ।

उक्त आधार कार्डमा ती व्यक्तिको नाम राजीव शर्मा र ठेगाना किशन पुरा पुलिस चेक पोस्ट न्यू मुल्तान नगर मेरठ उल्लेख छ ।

गुल्मी मजुवाका डिलबहादुर सुनार दुई दशक दुबईमा बसेर आएपछि यो पसल सुरु गरेका थिए । उनी सानो छँदा बुवा नन्दबहादुरले गाउँघरमै सुनचाँदीका गरगहनाको पसल चलाएका थिए ।

बुवाले गाउँघरमा गरेजस्तो काम गरेर सहरमा ठूलो सुनचाँदीको पसल चलाउने डिलबहादुरले दुबई बसेर आएपछि सुरु गरेका थिए । दुबईमा काम गरेर कमाएको पैसामा बैंकबाट डेढ करोड जति ऋण लिएर उनले पसल सुरु गरेका थिए । बुवा नन्दबहादुरको नाममा यो पसल दर्ता रहेको छ ।

डिलबहादुरले पसलमा भएका गरगहना लकरमा राखेर सटरमा चाबी लगाएर निस्किएका थिए । भोलिपल्ट बिहान पसलमा जाँदा भने अघिल्लो दिन लकरमा राखेका र बाहिर शो गरिराखेका सबै गरगहना र काँचो सुनसमेत चोरी भएको थियो । सटरमा लगाएको ताला र लकरमा समेत वेल्डिङ मेसिनको प्रयोग गरी चाबी फोरेर राति २ बजेको समयमा सम्पूर्ण सुनचाँदीका गरगहना चोरी गरिएको डिलबहादुरले बताए ।

कतिपय विवाहको लागि अर्डर गरी तयार गरिएका र पसलमै तयारी अवस्थामा राखिएका ३ सय ६० तोलाका गरगहना र २३ तोला काँचो सुनसहित तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको सुनारले बताए ।

तयारी गरगहना, काँचो सुन र नगद गरी करिब ५ करोड मूल्य बराबर रहेको उनको भनाइ छ । ‘के भयो, अब के गर्ने भन्ने नै सोच्न सकिएको छैन, अहिलेसम्मको कमाइ मात्र होइन जमानी राखेर बैंकबाट निकालेको ऋणसमेत कसरी तिर्ने’ डिलबहादुरको भने ।

विरोधमा व्यवसाय नै बन्द

व्यावसायिक सुरक्षाको प्रश्न उठाउँदै बुटवलका सुनचाँदी पसल बुधवार बन्द रहेका छन् । पटक पटक सुनचाँदी पसलमा चोरी भएको विरोधमा सबै सुनचाँदी पसल बन्द भएका हुन् ।

चोरीमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रशासनलाई दबाब दिनका लागि पसल बन्द गरिएको व्यवसायीहरूले बताएका छन् ।

प्रहरी विटको नजिकै रहेको बिपी चोकबाट सुनचाँदी पसलमा योजनाबद्ध ढंगले चोरी भएकोमा व्यवसायीहरू असुरक्षित महसुस गरेको सुनचाँदी व्यवसायी संघका केन्द्रीय सदस्य दीपक विश्वकर्माले बताए ।

चोरीमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रशासनलाई दबाब दिनका लागि पसल बन्द गरिएको सुनचाँदी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामकिसन विश्वकर्माले बताए ।

सुनचाँदी व्यवसायी संघ बुटवलका अध्यक्ष गोकुल विश्वकर्माले पटक पटक सुनचाँदी व्यवसायी लुटिने क्रम बढेको र कुनै पनि घटनामा पीडितले न्याय नपाएको बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले घटनामा संलग्नहरूको खोजी भइरहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर