भेरी नगरपालिकाको दुईवटा ठेक्का लिएका ठेकेदार मेयर उम्मेदवार बनेपछि उजुरी – Nepal Press

भेरी नगरपालिकाको दुईवटा ठेक्का लिएका ठेकेदार मेयर उम्मेदवार बनेपछि उजुरी

सुर्खेत । नगरपालिकाकै दुई वटा ठेक्का लिएर काम सम्पन्न नगरेकै अवस्थामा उम्मेदवार बनेको भन्दै जाजरकोटको भेरी नगरपालिकाका गठबन्धनका मेयर उम्मेदवार कमान बहादुर खड्काविरुद्ध निर्वाचन आयोगमा दाबी विरोध परेको छ ।

खड्काका सन्तोष निर्माण सेवा प्रालिले घ वर्गको निर्माण व्यवसायी इजाजतपत्रमार्फत नगरपालिकामा स्वास्थ्य चौकी र कुदु रंगशाला निर्माणको ठेक्का लिएको र हालसम्म सम्झौता बमोजिमका काम सम्पन्न नभएको भन्दै उनको उम्मेदवारी बदर गर्न माग गरिएको छ ।

खड्काले आसन्न निर्वाचनमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीको उम्मेदवार बनेर मनोनयन दाखिला गरेका छन् ।

निर्वाचन आचारसंहिता बमोजिम सम्बन्धित स्थानीय तहमा निर्माण व्यवसायीको कामकाज लिएको तथा सम्बन्धित उम्मेदवारको नाम र फर्ममा पेश्की रहेको व्यक्तिले उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।

यसैबिच उम्मेदवार बन्ने भएपछि खड्काले आफ्नो नामको फर्मको स्वामित्व छोरा प्रेमराज खड्काको नाममा यही वैशाख ९ गते हस्तान्तरण गरेको बताइएको छ ।

खड्काले आफ्नो र फर्मको नाममा लिएको पेश्की समेत फर्छ्यौट नगरेको भन्दै उनको उम्मेदवारी बदर गर्न माग गरिएको छ ।

हतार हतार छोराको नाममा फर्मको नाम सारे पनि कर चुक्ता र प्यान दर्ताको प्रमाणपत्र भने नबुझाएको पाइएको छ । प्यान दर्ता र कर प्रमाणपत्र उनकै नाममा रहेको प्रमाणसहित उनको उम्मेदवारी बदर हुनुपर्ने जिकिर गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर