बिहेपछि पार्टीमा पनि सेलिब्रेटीको ओइरो, प्रकाश सुवेदी र स्वस्तिमाको यस्तो घोचपेच (तस्बिरहरू) – Nepal Press

बिहेपछि पार्टीमा पनि सेलिब्रेटीको ओइरो, प्रकाश सुवेदी र स्वस्तिमाको यस्तो घोचपेच (तस्बिरहरू)

काठमाडौं । ‘रजतपट अंकल’ का रुपमा परिचित सञ्चारकर्मी प्रकाश सुवेदीले आफ्नी छोरीको विवाह धुमधामले गरे ।

धुलिखेलको रिसोर्टमा शनिबार विवाह समारोह भएको थियो भने हिजो काठमाडौंको एभरेस्ट होटलमा वरवधुको तर्फबाट प्रितिभोज आयोजना गरियो ।

यो बिवाह सामान्य विवाह मात्र नभएर पत्रकार सुवेदीको ‘शक्ति प्रदर्शन’ जस्तै थियो । विवाह र पार्टीमा नेपाली चलचित्रका सेलिब्रेटीहरुको ओइरो नै लाग्यो । विवाहमा पुग्न नसकेका हस्तिहरु पार्टीमा सहभागी भएका थिए ।

वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सुवेदीको निम्तो मान्न पुगेका थिए । विसञ्चो भएको कारण देखाएर विवाहमा नगएका अभिनेता राजेश हमाल श्रीमती मधु भट्टराईसहित पार्टीमा सहभागी भएर वरवधुलाई आशिर्वाद दिए ।

यस्तै, नायिका स्वस्तिमा खड्का र उनका निर्देशक श्रीमान निश्चल बस्नेत पनि पार्टी खान पुगे ।

हास्यकलाकारहरु किरण केसी र शिवहरी पौडेल, नायक प्रदिप खड्कादेखि ट्विनी गल्र्स प्रिज्मा र प्रिन्सी खतिवडाको पनि पार्टीमा उपस्थिति थियो ।

सुवेदीसँग चिसो सम्वन्ध भएका अभिनेता तथा निर्माता दिपकराज गिरी पनि निम्तो मान्न एभरेस्ट होटल पुगे । उनकी अनस्क्रिन जोडी तथा निर्देशक दिपाश्री निरौला भने गइनन् । यस्ता कार्यक्रममा प्राय दिपकराज र दिपाश्री एकसाथ पुग्ने गर्छन् ।

प्रकाश सुवेदीलाई दिएको अन्तरवार्तामा राजेश हमालका विषयमा गरेको टिप्पणीले दिपाश्री चरम विवादमा परेकी थिइन् । त्यसबेलादेखि प्रकाश सुवेदीसँग बिग्रिएको दिपाश्रीको सम्वन्ध अझै सुधार नभएको देखिएको छ ।

हास्यकलाकार केदार घिमिरे माग्नेबुढासँग पार्टीमा पुगेका दिपकराजको राजेश हमालसँग आमनेसामने भएको थियो । उनीहरुले हात मिलाएर फोटोसोटो खिचाए ।

पार्टीका क्रममा स्वस्तिमासँग आयोजक सुवेदीको घोचपेचसमेत चल्यो । स्वस्तिमाले प्रकाशलाई भेट्नासाथ ‘बुढोलाई बोकेर आउँछु भन्ने सोचेको थिएँ बिर्सेछु’ भन्दै ठट्टा गरिन् । लकडाउनका बेला स्वस्तिमाले श्रीमान निश्चललाई बाकेर हिँडेको भिडियाे सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । उक्त तस्विरलाई लिएुर सुवेदीले रजतपटकमा कडा टिप्पणी गर्दै भनेका थिए, ‘नायिकाहरुको काम छैन, बुढो बोक्यो हिँड्यो ।’

सुवेदीको उक्त टिप्पणीमा स्वस्तिमाले आपत्ति जनाएकी थिइन् ।

सोही प्रसंगलाई कोट्याउँदै पार्टीमा स्वस्तिमाले उक्त ठट्टा गरेका थिइन् । पछि प्रकाशले उनलाई जवाफ दिन खोजे, तर राजेश हमालको हस्तक्षेपका कारण भनाइ पुरा गर्न पाएनन् ।

प्रकाश माइकमै भन्दै थिए, ‘स्वस्तिमाजीले डाइलग पेलाइहाल्नुभो । निश्चलजीले पछि कुरा गरौंला भन्नुभएको छ । पछि नै कुरा गरौंला यसबारेमा । तर एकदमै खुशी लाग्यो । चलचित्र क्षेत्रमा कोही कसैको सत्रु वा कोही कसैको मित्र हुँदैन । कलाकार र पत्रकार कहिले पनि सत्रु वा मित्र हुँदैनन् । केही दिनका लागि टाढिँदा पनि फेरि हामी अन्तरंग बन्छौं…’

प्रकाशले यसो भन्दै गर्दा राजेश हमालले ‘यस्तो खुशीयाली माहोलमा किन यस्तो कुरा ?’ भन्दै रोकेका थिए । त्यसपछि प्रकाशले विषय अन्यत्र मोडे ।

सञ्चारकर्मी सुवेदीका एक छोरा र एक छोरी छन् । डेनमार्क बस्दै आएकी छोरी उतै बस्ने युवकसँग प्रेममा थिइन् ।

उनीहरुले नेपालमा आएर परिवारको सहमतिमा विवाह गरेका हुन् । उनीहरुको विवाह अन्तरजातीय हो ।

तस्बिर साैजन्य : अनुप भट्टराई


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर