विप्लवको पार्टीबाट कहाँ-कहाँ पर्‍यो स्वतन्त्र उम्मेदवारी ? फिर्ता लिन असन्तुष्ट समूहको चेतावनी – Nepal Press

विप्लवको पार्टीबाट कहाँ-कहाँ पर्‍यो स्वतन्त्र उम्मेदवारी ? फिर्ता लिन असन्तुष्ट समूहको चेतावनी

काठमाडौं । पार्टी निर्णयविपरीत विप्लव नेतृत्वको नेकपाका नेता-कार्यकर्ताले स्थानीय तहको निर्वाचनमा सहभागी हुन स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका केन्द्रीय सदस्य, जिल्ला इञ्जार्ज, सेक्रेटरी तथा ब्यूरो सदस्यले उम्मेदवारी नदिने पार्टी नीतिसमेत उल्लंघ गर्दै नेताहरू चुनावी मैदानमा खडा भएका हुन् ।

केन्द्रीय सदस्यहरू चुडामणी वली, भेषराज भुसाल, एटम बीसी र धीरेन्द्राकुमारी उपाध्यायले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । यस्तै, जिल्ला सेक्रेटरी मनिलाल ऐडी, पूर्वजिल्ला सेक्रेटरी भुवन जीसी, पूर्वजिल्ला इन्चार्ज एवम् विशेष समिति सदस्य योगेन्द्र कुमाल, सेती-महाकाली ब्यूरो सदस्य गौरा धामीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी प्रवक्ता प्रकाण्डको गृहजिल्ला कालीकोटका नौवटै स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेदवारी परेको छ । प्रकाण्डकै निर्देशनमा ‘स्वतन्त्र’ हैसियतमा उम्मेदवारी दर्ता गरिएको हो । चारवटा स्थानीय तहमा आइतबार उम्मेदवारी दर्ता गरेका विप्लव-प्रकाण्ड समूहका नेताले सोमबार थप चारवटा स्थानीय तहका सबैजसो पदमा उम्मेदवारी दिएका हुन् ।

कालीकोटको नरहरीनाथ गाउँपालिका अध्यक्षमा केन्द्रीय सदस्य एटम बीसी र उपाध्यक्षमा कलशा विक, रास्कोट नगरपालिकाको प्रमुखमा केन्द्रीय सदस्य धीरेन्द्राकुमारी उपाध्याय र उपप्रमुखमा फूलटौरा विक, पचालझरना गाउँपालिकाको अध्यक्षमा पार्टीको जिल्ला सेक्रेटरी मनिलाल ऐडी र उपाध्यक्षमा विनीत तिरुवाले उम्मेदवारी दिएका छन् । सान्नीत्रिवेणीको अध्यक्षमा नेकपाकै रूपसिंह बोहरा र व्यासी कामी गरी दुईजनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी, कालीकोटकै खाडाचक्रको प्रमुखमा हस्त विक र उपप्रमुखमा शारदा शाही, तिलागुफा नगरपालिकाको प्रमुखमा नरेन्द्र चदारा, उपप्रमुखमा धनराज शाही, महाबैको अध्यक्षमा धनबहादुर सिंह, पलाताको अध्यक्षमा पदमबहादुर विश्वकर्मा, शुभकालिकाको अध्यक्षमा मनिष विकलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

रोल्पाका ६ स्थानीय तहको अध्यक्षमा नेकपाको विप्लव-प्रकाण्ड पक्षबाट उम्मेदवारी दर्ता भएको छ । पार्टीका नेता चुडामणी वलीले जिल्लाको गंगादेव गाउँपालिकामा उम्मेदवारी दिएका छन् । यस्तै, थबाङमा अमित घर्तीमगर, सुनील स्मृतिमा कमल थापा, परिवर्तनमा लालबहादुर डाँगी, लुंग्रीमा भुपेन्द्र खड्का र सुनछहरीमा पुष्टमान घर्तीमगरले उम्मेदवारी दर्ता गराएका छन् । वली पार्टीको केन्द्रीय सदस्य हुन् भन् अरु सबै उम्मेदवार जिल्ला सदस्य हुन् ।

कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले उम्मेदवारी दर्ता गराएका छन् । शिवराज नगरपालिका -९ को वडाध्यक्षमा मालबहादुर घर्तीमगरले उम्मेदवारी दिएका छन् वडा सदस्यमा सुमित्राकुमारी घर्तीमगरको उम्मेदवारी परेको छ । वाणगंगा नगरपालिका ५ को वडा सदस्यमा ज्ञानेन्द्र पाण्डेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपाले अध्यक्ष, उपाध्यक्ष, दुई वडा अध्यक्ष र एक वडा सदस्यमा उम्मेदवारी दर्ता गराएको छ। अध्यक्षमा मैतबहादुर नेपाली र उपाध्यक्षमा तारा बस्नेतले उम्मेदवारी दिएका छन् । धुर्कोट-३ को वडाध्यक्षमा बाबुलाल नेपाली, धुर्कोट- ६ को वडाध्यक्षमा चन्द्रबहादुर पाण्डे र धुर्कोट-४ को वडा सदस्यमा लक्ष्मी पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

पाल्पाको तिनाउ गाउँपालिकामा पूर्व जिल्ला सेक्रेटरी भुवन जीसीले अध्यक्षमा ‘स्वतन्त्र’ उम्मेदवारी दर्ता गराएका छन् । यस्तै तिनाउ-२ मा टोपबहादुर विक, ३ मा निरबहादुर विक, ४ मा मानबहादुर दर्लामीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

गोरखाको गोरखा नगरपालिकाको प्रमुखमा विप्लव-प्रकाण्ड पक्षका योगेन्द्र कुमालले मनोनयन दर्ता गराएका छन् । उक्त पक्षको पूर्व जिल्ला इन्चार्ज कुमाल हाल विशेष समिति सदस्य छन् । उक्त पक्षकै सेती-महाकाली ब्यूरो सदस्य गौरा धामीले डडेल्धुराको परशुराम नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएकी छन् । उनी पार्टीको केन्द्रीय सदस्य ओमप्रकाश पुनकी श्रीमती पनि हुन् ।

सर्लाहीको वागमती नगरपालिका प्रमुखमा धनकुमारी खड्काले उम्मेदवार बनेकी छन् । उनी प्रहरीको ‘इन्काउन्टर’ मा मारिएका कुमार पौडेलकी श्रीमती हुन् ।

विप्लव नेतृत्वको नेकपाले सल्यानका तीन स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा लोक्पाल केसी र उपाध्यक्षमा हिरा बुढाले उम्मेदवारी दिएका छन् । ४ वटा वडामा अध्यक्षसहित सदस्यमा पनि नेकपाले स्वतन्त्र उम्मेदवार उठाएको छ । वडा नम्बर ३ को अध्यक्षमा टोपबहादुर केसी, वडा नम्बर २ को अध्यक्षमा टोपबहादुर डाँगी, वडा नम्बर ३ को अध्यक्षमा चुर्णबहादुर खड्का र वडा नम्बर ४ को अध्यक्षमा लोकबहादुर वली रहेका छन् ।

यस्तै कुमाख गाउँपालिकामा अध्यक्षमा भीम भारती र उपाध्यक्षमा गणेश चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यहाँ विप्लव नेतृत्वको नेकपा र जनमोर्चाको गठबन्धन भएको छ । नेकपाले तीन वटा वडा र जनमोर्चाले एउटा वडामा उम्मेदवारी दिएका छन् । जसमा वडा नम्बर ३ को अध्यक्षमा गोपालनाथ योगी, वडा नम्बर ४ को अध्यक्षमा जयराम केसी, वडा नम्बर ७ को अध्यक्षमा जंगबहादुर चन्दले उम्मेदवारी दिएका छन् ।

दार्मा गाउँपालिकामा अध्यक्षमा दलबहादुर केसी र उपाध्यक्षमा मदन चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दार्मामा ३ वटा वडामा नेकपाले अध्यक्षसहित सदस्यमा पनि उम्मेदवारी दिएको छ । जसमा वडा नम्बर १ को अध्यक्षमा सुरेश चन्द, वडा नम्बर ३ को अध्यक्षमा मोहनलाल केसी (मोहनपुरुष ) र वडा नम्बर ५ को अध्यक्षमा चित्रबहादुर खड्का रहेका छन् । जिल्लाका अन्य स्थानीय तहमा पनि नेकपा समर्थित स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

त्रिवेणीको वडा नम्बर ३ को अध्यक्षमा प्रेमबहादुर बुढा, वडा नम्बर १ को अध्यक्षमा फूलकुमारी पुन, कालिमाटी वडा नम्बर ६ मा कृष्ण केसी, बागचौर वडा नम्बर ८ मा हेमन्ता बुढाथोकी, वडा नम्बर ९ मा टोपवहादुर वली, वडा नम्बर २ समिर भण्डारी र वडा नम्बर ३ को लालवहादुर सुनारले उम्मेदवारी दिएका छन् ।

कारबाही गर्ने चेतावनी

पार्टीका एक नेताले स्वतन्त्र हैसियतमा करिब दुई दर्जन पालिकामा उम्मेदवारी परेको जानकारी आएको बताए । तर, पूरा विवरण आउन बाँकी रहेको नेकपाले जनाएको छ । अधिकांश स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दिने नेता कार्यकर्ता विप्लव-प्रकाण्ड पक्षका हुन् ।

पार्टीको भर्खरै कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीले स्थानीय तहको निर्वाचन उपयोग नगर्ने, केन्द्रीय स्तरका नेतासँगै जिल्ला इञ्चार्ज र सेक्रेटरी, ब्यूरो सदस्यले पनि उम्मेदवारी नदिने तर, जिल्लास्तरका नेता कार्यकर्ताले पार्टीको हैसियतबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराउने निर्णय गरेको थियो ।

पार्टीको निर्णय र नीतिविरुद्ध स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिइएको छ । पार्टीका सचिवालय सदस्यसमेत रहेका नेकपाका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले विज्ञप्तिमार्फत आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिने पार्टीका केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीलाई अविलम्ब उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकदेखि नै स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने कि नगर्ने भन्ने विषयमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । फिर्ता नभए चुनावमा सहभागी हुन उम्मेदवारी दर्ता गराएका नेता कार्यकर्तालाई कारबाही गर्ने तयारी भइरहेको छ ।

पार्टी महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्कबहादुर विश्वकर्मा निर्वाचन उपयोग गर्ने पक्षमा छन् भने नेता बास्तोला र सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहितका बहुमत नेता कार्यकर्ता चुनाव उपयोग र बहिष्कार दुवै नगर्ने पार्टीको निर्णयको पक्षमा उभिएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीले आधिकारिकरूपमा उम्मेदवारी दर्ता नगर्ने जिल्ला सदस्यभन्दा तल्लो तहका नेता कार्यकर्ता निर्वाचनमा जान चाहेमा जान दिने र उनीहरूले पार्टीबाट राजीनामा दिनुपर्ने भन्दै निर्णयविरूद्ध केन्द्रीय सदस्य नै चुनावमा भिडेपछि विज्ञप्ति निकालेरै फिर्ता हुन गरेका हुन् ।

निर्वाचन आयोगको स्थानीय तहको निर्वाचन कार्यतालिका अनुसार बैशाख १६ गते उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था छ । यदि कोही कसै उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएमा वैशाख १६ गतेकै साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली आउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *