२०५४ सालमै मेयर दाबी गरेका डाक्टर चापागाईँको ०७९ सालमा वडा सदस्यमा उम्मेदवारी – Nepal Press

२०५४ सालमै मेयर दाबी गरेका डाक्टर चापागाईँको ०७९ सालमा वडा सदस्यमा उम्मेदवारी

रुपन्देही । बुटवल उपमहानगरपालिकाको वडा सदस्यमा डाक्टर बालकृष्ण चापागाईँले उम्मेदवारी दिएका छन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्जसमेत रहेका डाक्टर चापागाईँ नेकपा एमालेमा रहँदा ०५४ तथा ०७४ सालमा बुटवलको मेयरका लागि दावेदारी गरेका थिए ।

अहिले एमाले छाडेर नेकपा एसमा लागेका चापागाईँ गठबन्धन दलहरूबाट बुटवलको मेयरका दाबी लबिङ गरे पनि पार्टीलाई भागवण्डा नपरेपछि खुम्चिएका थिए ।

सोमबार मनोनयन दर्ताको अन्तिम समयमा साँझ साढे ५ बजे उनले बुटवलस्थित निर्वाचन कार्यालयमा बुटवल वडा नं ४ को वडा सदस्यमा उम्मेदवारी दिएका थिए ।

गोप्य रूपमा दिइएको उनको उम्मेदवारीबारे धेरैलाई जानकारी नभए पनि पार्टीका जिल्ला अध्यक्ष राजु गुरुङलगायतका केही नेतालाई मात्र जानकारी थियो ।

पिएचडी अध्ययन गरेका र दसकौँ पत्रकारितामा बिताएका मान्छे किन वडा सदस्यमा उम्मेदवारी दिएको भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले नयाँ अनुभवका लागि यसो गरिएको बताए ।

राजकीय जिम्मेवारीमा मेरो नयाँ अनुभव हो, धेरै पढेका अनुभव भएका व्यक्तिहरू आफ्नो वडाको, टोलको विकासमा ध्यान नदिने परम्परा तोड्न र पार्टीका उपस्थितिलाई समेत जोड्न मेरो उम्मेदवारी हो- डा. चापागाईँले भने ।

पार्टीको जिम्मेवारीमा रहेपछि यसरी टिममा रहेर काम गर्न सजिलो होला, वार्ता, छलफलमा बस्न सजिलो होला भनेर उम्मेदवारी दिएको हुँ – उनले भने । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि गरेका चापागाईँ प्रेस चौतारीको पूर्वकेन्द्रीय अध्यक्ष तथा राससको पूर्व कार्यकारी अध्यक्ष हुन् ।

नेपाली र पत्रकारितामा एमए गरेका उनले वडा सदस्यमा उम्मेदवारी दिएपछि गठबन्धनभित्रै र बाहिर थप चर्चामा आएका छन् ।

नेकपा एसलाई बुटवलको भागबन्डामा उपमेयर परेको थियो त्यो पदमा पार्टीले चीनबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर