गुरुराज घिमिरेलाई शेखर र पूर्णबहादुरको टेलिफोन – निराश नबन्न आग्रह – Nepal Press

गुरुराज घिमिरेलाई शेखर र पूर्णबहादुरको टेलिफोन – निराश नबन्न आग्रह

काठमाडौं । सक्रिय राजनीतिबाट संन्यास लिने संकेत गरेका नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेलाई नेता–कार्यकर्ताहरूले तारान्तार फोन गरेका छन् ।

घिमिरेको घोषणाप्रति अधिकांशले निराशा व्यक्त गर्दै राजनीतिको मैदान नछाड्न सुझाव दिएका छन् ।

घिमिरेले आज बिहान फेसबुक र ट्विटर मार्फत ‘सक्रिय राजनीतिबाट बिदा लिउँ की भन्ने लागेको’ धारणा सार्वजनिक गरेका थिए ।

घिमिरेको घोषणापछि शुभेच्छुकहरूले सामाजिक सञ्जालमा राजनीतिमा बढ्दो विकृतिलाई राजनीतिकै मैदानबाट परास्त गर्न सुझाव दिएका छन् ।

यसैबीच कांग्रेस नेता डा।शेखर कोइरालाले घिमिरेलाई फोन गरेर निराश नहुन आग्रह गरेका छन् । कोइरालाले राजनीतिबाटै अलग हुने निर्णय गर्ने बेला नभएको भन्दै सल्लाह गरेर मात्रै निर्णय लिन घिमिरेलाई सुझाएका छन् ।

कोइरालाले घिमिरेलाई भेट्न बोलाएका छन् । आजै उनीहरूबिच भेटेरै छलफल गर्ने सहमति बनेको छ ।
घिमिरे कोइराला टिममै सक्रिय रहँदै आएका छन् ।

यद्यपि पछिल्लो समय पार्टीभित्रका सबै गुट उस्तै रहेको घिमिरेको प्रतिक्रिया छ ।

‘पार्टीभित्र न्यायको कुनै गुञ्जायस रहेन । पार्टीभित्र सामान्य टेक्ने धरातल पनि नहुने भएपछि , मेरा विरुद्ध रेड कर्नर जारी भएको महसुस मैले गरेको छु । कसैलाई दोष दिनु छैन, राजनीतिका लागि म नै अन फिट रहेछु जस्तो लाग्यो’, घिमिरेले नेपाल प्रेससँग भने ।

यो पनि पढ्नुहोस्- कांग्रेस नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने !

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि घिमिरेलाई टेलिफोन गरेर हताश नहुन आग्रह गरेका छन् । खड्काले लामो संवाद गर्दै घिमिरेले महसुस गरेको अन्यायलाई पार्टीभित्रबाटै न्यायमा परिणत गराउनुपर्ने सुझाव दिएका छन् । खड्काले घिमिरेलाई लामो समयदेखि अन्याय भएको महसुस आफूले पनि गरेको भन्दै राजनीति छाड्ने निर्णयमा नपुग्न आग्रह गरेका छन् ।

घिमिरेले स्थानीय निर्वाचनमा पार्टीका साथीहरूलाई साथ आवश्यक रहेकाले निर्वाचनपछि थप निर्णय लिने बताए । ‘अहिले केही योग्य साथीहरूले पनि टिकट पाउनुभएको छ । उहाँहरूलाई जिताउन सक्रिय हुने नै छु ।निर्वाचनपछि म एउटा निष्कर्षमा पुग्छु । यस्तै तरिकाले राजनीतिमा सबै रहनुपर्छ भन्ने लागेको छैन’, घिमिरेले भने ।

उनले आफू कुनै आवेगमा आएको या हताश नभएको दाबी गरे । ‘मैले पूर्ण प्रसन्नताका साथ यस्तो धारणा बनाएको छु । गणेशमान वा किसुनजीको बेलामा पुगेर राजनीतिबाट अलग रहनुभन्दा अहिले बेला छँदै सोच्नु उपयुक्त लागेको छ’, घिमिरेले भने ।

उनले आफूलाई लागेको कुरा सामाजिक सञ्जालमा लेखे पनि राजनीतिबाट संन्यास घोषणा नगरिसकेको र स्थानीय निर्वाचनपछि थप निर्णय लिने बताए ।


प्रतिक्रिया

One thought on “गुरुराज घिमिरेलाई शेखर र पूर्णबहादुरको टेलिफोन – निराश नबन्न आग्रह

  1. ठेलेर भित्ता मै पुर्याए पछि कि आफुले ठेल्न सक्नु पर्यो कि ढोका खोलेर भाग्नु परेन त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर