नेमकिपामा पनि नातावाद : बिजुक्छेका भाइ र प्रेम सुवालका ज्वाइँ बने वडाध्यक्ष उम्मेदवार – Nepal Press

नेमकिपामा पनि नातावाद : बिजुक्छेका भाइ र प्रेम सुवालका ज्वाइँ बने वडाध्यक्ष उम्मेदवार

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले पार्टी अध्यक्ष नारायणमान बिजुक्छेका कान्छा भाइ योगेन्द्रमान बिजुक्छेलाई वडा अध्यक्ष उम्मेदवार बनाएको छ ।

नेमकिपाले योगेन्द्रमान बिजुक्छेलाई भक्तपुर नगरपालिका वडा नं ५ को अध्यक्षको उम्मेदवार बनाएको हो । नेमकिपाको कुनै पनि संगठनमा नरहेका योगेन्द्रमानको वडा अध्यक्षमा उम्मेदवारीसँगै नेमकिपाको राजनीतिमा इन्ट्री भएको छ ।

कम्युनिष्टहरु वंश परम्परामा विश्वास राख्दैनन् तर यसलाई उत्तर कोरिया तथा क्युबाको कम्युनिष्ट पार्टीहरुले मिथ्या सावित गर्दै आएका छन् । नेमकिपाले सधैं उत्तर काेरिया र क्युवाकाे पक्षमा वकालत गर्दै आएकाे छ । अहिले भक्तपुर नगरमा नेमकिपाले उत्तर कोरियाली शैलीमा एकछत्र शासन गर्दै आएको टिप्पणी हुँदै आएको छ । त्यसैलाई सत्य साबित गर्दै नेमकिपाले भक्तपुर नगरमा वंश परम्परालाई अघि बढाएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।

त्यस्तै पार्टी नेतृत्वको लागि नारायणमान बिजुक्छेपछि योगेन्द्रमानलाई नै अघि सार्ने धेरैको आँकलनलाई सही साबित गर्दै नेमकिपाले यसपटक वडा अध्यक्षमा उनलाई अघि सारेको छ ।

उनी भक्तपुर नगरपालिका– १० देकोचास्थित जेन्युइन सेकेन्डरी स्कुलका लगानीकर्ता एवं प्रिन्सिपल हुन् । योगेन्द्रमानले भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रम ख्वप पहिचान निर्माणमा महत्वपूर्ण योगदानसमेत दिएका थिए ।

भक्तपुर नगरपालिका– ५ स्थित सुकुलढोका बिजुक्छे दाजुभाइको पुर्ख्याैली वडा हो । हाल पार्टी अध्यक्ष नारायणमान भक्तपुर नपा – १० कमलविनायक र वडा अध्यक्ष उम्मेदवार योगेन्द्रमान भक्तपुर नपा– ८ लिवालीमा घर बनाएर बस्दै आएका छन् ।

भक्तपुर नपा– ५ मा किसानहरुको भन्दा मध्यमवर्गीयहरुको बसोबास बाक्लो छ । त्यसैले यस वडामा नेमकिपाले हरेक स्थानीय निर्वाचनमा मध्यम वर्गीय उम्मेदवार खडा गर्दै आएको छ । अघिल्लो पटक नारायणमान बिजुक्छे भाडामा बसेको घरका धनी प्रेमगोपाल कर्माचार्यलाई नेमकिपाले वडा अध्यक्षको उम्मेदवार बनाएको थियो ।

यसपटक भक्तपुर नगरमा मेयर, उपमेयरसहित ७ जना वडा अध्यक्षले फेरि टिकट पाउँदा कर्माचार्य दोहोरिएनन् ।

त्यस्तै नेमकिपाले पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालका बहिनी ज्वाइँलाई पनि वडा अध्यक्ष उम्मेदवार बनाएको छ ।

सुवालका बहिनी ज्वाइँ कृष्णप्रसाद कोजूलाई नेमकिपाले भक्तपुर नपा वडा नं ८ को वडा अध्यक्ष उम्मेदवार बनाएको हो । यस वडाका अध्यक्ष महेन्द्र खायमलीले दोहोर्‍याउन नपाएपछि कोजूलाई मौका दिइएको हो ।

कोजू इँटा उद्योग व्यवसायी हुन् । यसअघि वडा अध्यक्षमा निर्वाचित खायमली पनि इँटा उद्योग व्यवसायी नै हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर