सिरहा औरही उपाध्यक्षमा जसपाबाट दुईजनाको मनोनयन, एकको रद्द – Nepal Press

सिरहा औरही उपाध्यक्षमा जसपाबाट दुईजनाको मनोनयन, एकको रद्द

जनकपुरधाम । सिरहाको औरही गाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट दुईजनाको उम्मेदवारी परेको छ । यहाँ देवझारी यादव र रेणु यादवले मनोनयन दर्ता गराएका हुन् ।

मधेस प्रदेशका कृषिमन्त्रीसमेत रहेका जसपा कार्यकारिणी सदस्य विजय यादवको गृहगाउँ हो औरही । यहाँ उनको चाहनाबमोजिम रेणु यादवले उपाध्यक्षले टिकट पाइन् ।

तर, जसपा नेता रामरिझन यादवले देवझारीलाई उपाध्यक्ष दिनुपर्ने अडान लिएका थिए । जसपामा तत्कालीन नयाँ शक्ति र उपेन्द्र यादव पक्षका नेता कार्यकर्ता विभाजित छन् । केहिदिन अगाडि मात्र जसपा प्रवेश गरेकी रेणुलाई टिकट दिन लागेको भन्दै देवझारी असन्तुष्ट बनिन् ।

मनोनयन दर्ताको अन्तिम दिन बिहान देवझारीलाई रामरिझन यादवले टिकट दिए । लगत्तै उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन गरी ।

नयाँ शक्तिमा रहेका बेला उनको नाम सामानुपातिक सूचीमा रहेकाले उनी उम्मेदवार बन्नबाट वञ्चित भइन् ।

औरहीका निर्वाचन अधिकृत पिताम्वर गौतमले सामानुपातिकको बन्दसूचीमा नाम रहेकाले देवझारीको उम्मेदवारी दर्ता भएर पनि सिस्टममा नगएको जानकारी दिए । जसपाकै तर्फबाट पछि रेणुले उम्मेदवारी दर्ता गराएको र सिस्टममा गइसकेकाले रेणुकै उम्मेदवारी कायम रहने उनको भनाइ छ ।

नेता रामरिझन यादवले सामानुपातिक बन्द सूचीको नाम कटाउन नसकेकाले देवझारी टिकट पाएर पनि उम्मेदवार बन्न नपाएपछि दुःख लागेको बताए । उनले भने, ‘व्यस्तताको कारण बन्दसूचीमा उनको नाम रह्यो । अहिले उनी उम्मेदवार हुन पाइनन् । यो मेरै गल्ती हो । त्यसको मूल्य देवझारीले चुकाउनुपरेको छ ।’

औरहीमा जसपाको तर्फबाट शिवजी यादव पुनः अध्यक्षमा उम्मेदवारी दिएका छन् । पार्टीमा टिकटका लागि देखिएको विवादले अध्यक्ष यादवलाई प्रभाव पर्नसक्ने चर्चा चल्न थालेको छ । यादव गत निर्वाचनमा नेकपा माओवादी केन्द्रका सिद्धार्थ यादवबाट मात्र ६ भोटले पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर