गठबन्धनको काइदा- ठूला नेताका नातागोतालाई फाइदा – Nepal Press

गठबन्धनको काइदा- ठूला नेताका नातागोतालाई फाइदा

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका विभिन्न जिल्लाका नेता कार्यकर्ताले गठबन्धनका नाममा टिकट नपाएर विद्रोह गरिरहेका बेला शीर्ष र प्रभावशाली नेताले भने आफ्नो परिवारका सदस्य सेट गरेका छन् ।

केही नेता र तीनका परिवारका सदस्य जिताउन गठबन्धन गरेको भन्दै तलबाट कार्यकर्ताले विरोध गरिरहेका छन् । तर देशका ६ मध्ये तीन महानगरपालिकाको मुख्य पदमा नेताका परिवारले मौका पाएका छन् ।

भरतपुर महानगरपालिकामा गठबन्धनका शीर्ष नेता प्रचण्डकी छोरी रेनु मेयरको उम्मेदवार बनेकी छन् । प्रचण्डको छोरीका लागि चितवन कांग्रेसले आफ्नो आधार भूमि गुमाउनु परेको भन्दै कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

यता काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई गठबन्धनबाट मेयरको उम्मेदवार बन्ने मौका मिलेको छ । विद्यार्थी कालपछि सक्रिय राजनीतिमा नरहेकी सिर्जनालाई गठबन्धनले मेयरको उम्मेदवार बन्ने मौका मिल्यो ।

कांग्रेस महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति जिताउन सहयोग गरेको गुन देउवाले गठबन्धनबाट प्रकाशमान पत्नीलाई मेयरको टिकट दिएर तिरेको टिप्पणी कांग्रेसमा भइरहेको छ ।

त्यस्तै गठबन्धनकै अर्का शीर्ष नेता उपेन्द्र यादवले विराटनगर महानगरपालिकाको उपमेयरमा गठबन्धनबाट छोरा अमरेन्द्रलाई उम्मेदवार बनाएका छन् । उपेन्द्रले छोरालाई अघि बढाएपछि यसअघि मेयर उम्मेदवार बनेर तेस्रो भएका जसपाका नेता उमेश यादवले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेताका परिवारलाई सेट गर्न गठबन्धन बनाइएकाले आफूले विद्रोह गर्नुपरेको यादवले बताए । कांग्रेसकै अर्का नेता तथा गृहमन्त्री बालकृष्ण खाणले पनि गठबन्धनको फाइदा लिँदै सहोदर भाइ रामकृष्ण खाणलाई तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार बनाएका छन् ।

यसअघि राष्ट्रिय जनमुक्ति पार्टीको सहयोग लिएर पनि मेयरमा हारेका खाणलाई यसपटक माओवादी,नेकपा एससहितको गठबन्धनबाट जिताउन खाँणले मौका गुमाउन चाहेनन् ।


प्रतिक्रिया

3 thoughts on “गठबन्धनको काइदा- ठूला नेताका नातागोतालाई फाइदा

  1. गठबन्धनकाे नाममा केन्द्रबाट नलाद्ने हाे भने भाइभारदार उम्मेदवारमा सिफारिश मै पर्दैनन् । त्यसैले गरिएकाे हाे गठबन्धन । अब यिनलाई चुनावमा हराईदिउँ । अर्काे पटकदेखि कसैले पनि आँटै गर्दैनन् ।

  2. मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेनहरूमाथि पूर्व राजा ज्ञानेन्द्रको पूरा आशिर्वाद छ। काठमाडौंको मेयरमा प्रकासमान सिंहको श्रीमति सिर्जना सिंह, भरतपुरको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल र विराटनगरको उपमेयरमा उपेन्द्र पुत्र अमरेन्द्र यादव भएकाले राजनीतिमा वंशवाद र नातावादलाई खतम पार्न कै लागि पनि जनताले विपक्षमा मतदान गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर