प्रदेशभन्दा स्थानीय तहमा आकर्षण- एमालेका ५ जना सांसद मेयर बन्न चुनावी मैदानमा – Nepal Press

प्रदेशभन्दा स्थानीय तहमा आकर्षण- एमालेका ५ जना सांसद मेयर बन्न चुनावी मैदानमा

काठमाडौं । नेकपा एमालेले देशका ५ वटा महानगरपालिकामध्ये आफ्नो सांगठनिक आधार सबल भएका तीन वटाको मेयर बनाउन प्रदेश सभाका सांसदहरूलाई राजीनामा गराएको छ ।

काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकामा हेबिवेट उम्मेदवार खडा गर्न एमालेले प्रदेशसभा सदस्यहरूलाई चुनावी मैदानमा उतारेको हो । काठमाडौं र पोखराका मेयर उम्मेदवारले एक कार्यकाल महानगरको नेतृत्व गरिसकेका छन् ।

बागमती प्रदेशसभाका सदस्य केशव स्थापित र विजय सुवेदी क्रमशः काठमाडौं र भरतपुरको मेयर उम्मेदवार बनेका छन् । स्थापित २०५४ सालमा पनि एमालेबाट एक कार्यकाल मेयर भइसकेका नेता हुन् ।

त्यस्तै गण्डकी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर पोखरा महानगरपालिकाको मेयर उम्मेदवार बनेका थापाले पनि २०५४ मा उपमहानगरपालिका भएको बेला पोखराको नेतृत्व गरिसकेका छन् ।

महानगरपालिकाबाहेक एमालेले प्रदेश १ का दुई जना सांसदलाई पनि मेयरमा उतारेको छ । इलामको सूर्योदय नगरपालिकाको मेयरका उम्मेदवार काजीमान कागते र झापाको मेचीनगर नगरपालिकाको मेयरका उम्मेदवार गोपालचन्द्र बुढाथोकी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयर बन्न गएका हुन् ।

नेकपा एसका नेता झलनाथ खनालको गृह नगर सूर्योदयका यसअघिका मेयर रणबहादुर राई खनालसँगै गएपछि प्रभावशाली र लोकप्रिय नेता खोज्ने क्रममा एमालेले प्रदेशसभा सदस्य कागतेलाई राजीनामा गराएर मेयरमा उम्मेदवार बनाएको हो ।

त्यस्तै बुढाथोकी पनि मेचीनगरका लोकप्रिय नेता हुन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा पनि मेयरका दाबेदार थिए । तर उनले टिकट नपाएका कारण एमालेले उपमेयर जितेर मेयर हारेको थियो ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृह नगर मेचीमा यस पटक एमालेले बुढाथोकीलाई अघि बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर