कपनमा श्रीमानले तारपिन खन्याएर आगो लगाएकी अस्मिता एक महिनापछि वितिन् ! – Nepal Press

कपनमा श्रीमानले तारपिन खन्याएर आगो लगाएकी अस्मिता एक महिनापछि वितिन् !

काठमाडौं । राजधानीको कपनमा चैत ११ गते श्रीमानले आगो लगाएर सख्त घाइते भएकी अस्मिता चौधरीको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको छ।

साँखुस्थित सुश्मा मेमोरियल अस्पतालमा उपचार भइरहेकी ३० वर्षीया अस्मिताको एक महिनापछि आइतबार मृत्यु भएको बौद्ध प्रहरी वृत्त प्रमुख ढुण्डिराज न्यौपानेले जानकारी दिए।

चैत ११ गते साँझ कोठा थुनेर ४२ वर्षीय प्रविन चौधरीले अस्मितालाई तारपिन तेल खन्याएर आगो लगाएका थिए। स्थानीयले थाहा पाएपछि तत्कालै अस्मितालाई अस्पताल पुर्‍याइएको थियो।

प्रहरीका अनुसार अस्पतालले त्यतिबेला अस्मिताको २५ प्रतिशत भाग मात्र जलेको बताएको थियो। घटनापछि प्रहरीले प्रविनलाई पक्राउ गरि ज्यान मार्ने उधोगमा मुद्धा चलाएको थियो। बैशाख ५ गते जिल्ला अदालत काठमाडौंको आदेशले प्रविन कारागार चलान भएका थिए।

अस्मिताको मृत्यु भएपछि अब प्रविनमाथिको मुद्धा परिवर्तन गरि कर्तव्य ज्यान बनाउने तयारी प्रहरीको छ। रङ पेन्टिङको काम गर्ने सिराहाको लहान नगरपालिका-७ स्थायी ठेगाना भएका प्रविन र अस्मिताबीच दुई वर्षअघि विवाह भएको थियो।

के थियो आगो लगाउने कारण

प्रहरीले अनुसन्धानका क्रममा मृतक अस्मिता र प्रविन दुवैको बयान लिएको थियो।

अस्मिताका अनुसार प्रविनले घटना भएको दिन मदिरा सेवन गरि घर आएर तरकारी मिठो नबनाएको भन्दै स्टोभमा प्रयोग गर्ने गरेको तारपिन तेल उनीमाथी खन्याएका थिए। दिनभर घर बसेर आलु र सागको मिसाएर तरकारी बनाउने भन्दै प्रविनले आक्रमण गरेको दावी अस्मिताको थियो।

यता प्रविनले घटना भएको दिन अस्मिताले पनि मदिरा सेवन गरेको बयान दिएका थिए।आफु घर आउँदा मदिरा सेवन गरेर आएको र श्रीमतीलाई पनि मदिरा ल्याउन लगाएर फेरी दुवै जनाले सेवन गरेको उनले बयान दिएका थिए। आपसी विवादमा आफुले तारपिन खन्याएर आगो लगाएको प्रविनले बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर