भरतपुर कांग्रेसका बागी उम्मेदवार पौडेलको आक्रामक भाषण : कांग्रेसले हँसिया-हतौडामा भोट हाल्दैन (भिडिओ) – Nepal Press

भरतपुर कांग्रेसका बागी उम्मेदवार पौडेलको आक्रामक भाषण : कांग्रेसले हँसिया-हतौडामा भोट हाल्दैन (भिडिओ)

काठमाडौं । पार्टी निर्णय विपरीत नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका जगन्नाथ पौडेलले कम्युनिस्टसँग मिलेर कांग्रेसको कल्याण नहुने बताएका छन् । कांग्रेसका मतदातालाई हँसिया हतौडामा भोट हाल्न लगाउने कार्य स्वीकार्य नहुने उनको भनाइ छ ।

भोलि उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेका पौडेलले आज कांग्रेस कार्यकर्तामाझ आक्रामक भाषण गरेका थिए । कांग्रेस सभापतिबाटै चितवन कांग्रेसको हुर्मत लिने काम भएको उनले गुनासो गरे । यस विरुद्ध आफू समर्थकहरूको आग्रहमा मैदानमा खडा भएको उनले बताए ।

‘म कुनै पनि बेला कारबाईमा पर्न सक्छु । धम्की आउन सक्छ । तर सतिसाल भएर उभिएको छु । म भेटिउँला तर झुक्दिन,’ पौडेलले भने ।

पौडेलको भाषणको सम्पादित अंश :

हामीले विगत ५ वर्षमा नेपाल कम्युनिस्ट पार्टी दुई तिहाइबाट टुक्रा टुक्रा भएर, छरपस्ट भएर भत्किएको, मक्किएको देखेका छौँ । संयोगवश कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त ग¥यो । देउवा प्रधानमन्त्री हुनुभयो । तर, उहाँलाई प्रधानमन्त्रीत्व चलाउन सहज भएन । ८८ दिनसम्म सरकार विस्तार हुन सकेन । एउटा पार्टीको सानो अंशलाई सुरक्षा गर्न अध्यादेश ल्याउनुपर्‍यो । राजनीतिक दलदलमा हाम्रो नेता फस्न पुग्नुभयो ।

कांग्रेसले आफ्नो झण्डा र चुनाव चिन्हलाई भरसक सबैतिर समान रूपमा प्रयोग गर्नुपर्थ्यो । तर, दुभाग्यवस त्यो स्थिति भएन । गठबन्धन गर्नुपरेको छ । हिजो कांग्रेसले अब ५० वर्ष सत्ताको अनुहार देख्न पाउने छैनन् भनेर भाषण गर्ने नेताहरू आज कांग्रेसको पछिपछि आएका छन् । यो उनीहरूको बाध्यता हो । कांग्रेससँग नमिले माधव नेपालको पार्टीको अस्तित्व रहँदैन । हिजो प्रचण्डले कांग्रेसविरुद्ध धेरै ठूला आरोपहरू लगाउनुभयो । केपी ओलीसँग गला जोडेर कांग्रेसलाई २३ सिटमा झार्न उहाँको योगदान छ । तर, आज हाम्रो पार्टीको सेरोफेरोमा चितवनलाई ५७÷५८ सालको रोल्पा रुकुम बनाउने अभियानमा हुनुहुन्छ ।

आजको संस्थापनले स्वयम् प्रधानमन्त्रीजी, सभापतिजीले कांग्रेसको बचाउ गर्न सक्नुभएन । चितवन कांग्रेसको हुर्मत लिने काम भएको छ । एक पटक होइन, अनेक पटक एउटा चिन्हमा भोट हाल्न चितवन कांग्रेसलाई स्वीकार्य छैन । चितवनले आज जे देखेको छ बाँकी नेपालले भोलि देख्छ । आज चितवनले विरोध गरेको छ, भोलि देशैभर विरोधको लहर उत्पन्न हुनेछ । भोलि देशैभर रुखको पक्षमा एकतर्फी जनमत बन्ने देखिरहेको छु ।

 म उम्मेदवार हुने सोचेको थिइनँ । मलाई राजनीति गरेर खास पदमा उठ्ने लालसा छैन । अहिले मेयर हुने मेरो आकांक्षा हुँदै होइन । तर, आवश्यकता कांग्रेसजनलाई पर्‍यो । तैँले उभिएर केही गरिदिन्छस् कि भनेपछि म सही सलामत छु, तपाईँहरूको भरोसामाथि पानी फेर्न दिन्न भनेको हुँ । नत्र मैले अरू साथीहरूलाई अनुरोध गरेको थिएँ ।

अगाडिको बाटो सहज छैन । ठूला–ठूला शक्तिसँग लड्नुपर्ने छ । आफ्नै पार्टीसँगको लडाइँ छ । प्रमुख प्रतिपक्षी भनेर सत्ताको सेरोफेरोमा हिँडेको माओवादी केन्द्र छ । त्यसपछि बाँकी अरू कुराहरू छन् ।

यो कांग्रेसविरुद्धको अभियान होइन । कांग्रेसले हँसिया–हतौडामा भोट हाल्दैन । विकल्प चाहियो । विकल्प खोज्ने क्रममा मलाई उभ्याइएको हो । म निमित्त हुँ । तपाईँले घरघरमा, गाउँ गाउँमा प्रचार गरेर आँधिबेरी ल्याउनुस् ।

एक प्रकारको जहानियाँ शासन जस्तो भएको छ अहिले । कहीँ छोरालाई, कहीँ श्रीमतीलाई कहीँ छोरीलाई दिनुपर्ने । नेताहरूको समीकरणका निम्ति आफ्नो झण्डा छोडेर अर्काको झण्डामा भोट हाल भनेर भन्न पनि हिचकिचाहट छैन । कांग्रेसको विधानले त हँसिया हतौडामा भोट हाल्नेलाई कारबाही गर्ने भन्छ । रुखबाहेक अन्यत्र भोट हालेको अवस्थामा विधानले प्रश्न वाचक चिन्ह खडा गर्छ । कांग्रेस हो भने किन रुखभन्दा बाहेक गयौ ? हँसिया हतौडालाई त झन् सय प्रतिशत निषेध गर्छ कुनै हालतमा मान्दैन ।

आम मान्छेले संकल्प गरेमा परिणाम उल्टाउन सकिन्छ । ५० हजार, ६० हजार मत एक ठाउँमा आउन असम्भव देख्दिनँ । आज हामीले गल्ती गर्‍यौँ भने अनन्तकाल दुख पाउँछौँ । पानी र तेल मिल्न सक्दैन । कम्युनिस्टसँग मिलेर हाम्रो कल्याण छैन । केही नेताको चाँजोपाँजो मिलाउन यो सब गरिएको हो । उनीहरू १० जनाको समस्या समाधान गर्दा देशैभरि समस्या भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर