ओली र प्रचण्डको गृहनगरमा लिङदेनको ‘क्रस कनेक्सन’ – Nepal Press

ओली र प्रचण्डको गृहनगरमा लिङदेनको ‘क्रस कनेक्सन’

लिङदेनको गृहपालिकामा कांग्रेस-एमाले गठबन्धन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहनगरमा राप्रपाले ‘क्रस तालमेल’ गर्ने भएको छ । दुवै नेताको गृहनगरमा राप्रपाको शक्ति बलियो मानिन्छ । यही शक्तिलाई उपयोग गरेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले दुवै नेतालाई कमजोर पार्ने रणनीति लिएका छन् ।

यसअन्तर्गत एमाले अध्यक्ष ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राप्रपाले पाँचदलीय सत्तागठबन्धनसँग तालमेल गरेको छ । यसअघि झापामा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर १५ वटा पालिकामध्ये १४ मा कांग्रेस र दमकमा माओवादी लड्नेगरी सहमति गरेका थिए ।

तर, यति गर्दा पनि जित निश्चित नदेखिएपछि सत्ता गठबन्धन दमकमा राप्रपालाई नेतृत्व छोड्न सहमत भइसकेको छ । सहमतिअनुसार अब राप्रपाले नगरप्रमुख पदमा एमालेसँग प्रतिस्पर्धा गर्नेछ भने सत्ता गठबन्धनले उपप्रमुखमा उम्मेदवारी दिनेछ ।

२०७४ को स्थानीय तह निर्वाचनमा दमक नगरपालिकामा एमाले जितेका थियो । एमालेका रोमनाथ ओलीले १० हजार ८ सय ६ मत ल्याएर विजयी हुँदा दोस्रोमा राप्रपाका रामकुमार थापाले ७ हजार ६ सय ५५ मत ल्याएका थिए । यस्तै माओवादी केन्द्रमा रेवतराज पुरी ६ हजार ८ सय ९८ मतसहित तेस्रो हुँदा कांग्रेसका ढुण्डीराज भण्डारी ५ हजार ५ सय ३९ मतसहित चौथो भएका थिए ।

यही कारण दमकमा एमाले हराउन सत्ता गठबन्धन पनि दोस्रो शक्ति राप्रपालाई मेयरमा सहयोग गर्न तम्सिएको छ । झापा राप्रपा अध्यक्ष लिङ्देनको पनि गृहजिल्ला हो ।

राप्रपाबाट अघिल्लोपटक उम्मेदवार भएका थापा नै प्रमुखमा उम्मेदवार भएका छन भने, एमालेले उपमेयर जितेकी गीताकुमारी पौडेललाई उम्मेदवार बनाएको छ ।

यहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहनगर भरतपुर महानगरपालिकामा राप्रपाले एमालेलाई सहयोग गर्नेगरी छलफल अगाडि बढाइरहेको छ । यसबाहेक प्रचण्डकै निर्वाचन क्षेत्र पर्ने माडी नगरपालिकामा पनि एमालेसँग तालमेल गरेर जाने राप्रपाको प्रस्ताव छ । चितवन राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको जिल्ला हो । प्रचण्ड र उनी एउटै क्षेत्रबाट निर्वाचन लड्ने गर्दछन् ।

यही कारण राप्रपाले दुवै नगरमा तत्काल प्रमुखमा एमाले उम्मेदवारलाई सघाउने र उपमेयर आफू पाउनुपर्ने र संसदीय निर्वाचनमा सो क्षेत्रमा आफूलाई सघाउनुपर्ने प्रस्ताव राखेको छ ।

भरतपुरमा सत्तारूढ गठबन्धन दलबाट प्रचण्डपुत्री रेनु दाहाल नै उम्मेदवार बन्ने पक्कापक्की छ, भने एमालेले तर्फबाट विजय सुवेदी उम्मेदवार बनाएको छ ।

यता राप्रपा अध्यक्ष लिङ्देनको गृहपालिका कचनकवल गाउँपालिकामा राप्रपा हराउन एमाले-कांग्रेस गठबन्धन भएको छ । यहाँ एमालेले अध्यक्षमा कांग्रेसलाई सघाउने भएको छ भने, उपाध्यक्षमा एमालेका उम्मेदवारलाई कांग्रेसले सघाउने भएको छ ।

२०७४ निर्वाचनमा यहाँ राप्रपाले जितेको थियो । राप्रपाका उम्मेदवार अन्जरा आलमले ५ हजार ८ सय १६ मत ल्याएर विजयी हुँदा कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशी ५ हजार ३ सय ५३ मतसहित दोस्रो भएका थिए ।

एमालेका शेरबहादुर खत्रीले ३ हजार ९ सय ७२ मत ल्याएर तेस्रो हुँदा माओवादी केन्द्रका हंसनारायण राजवंशीले एक हजार २ सय ७० मत पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर