डेनमार्कको राजदूतमा सिफारिस रामस्वार्थ रायविरुद्ध सुनुवाइ समितिमा पर्‍याे उजुरी – Nepal Press

डेनमार्कको राजदूतमा सिफारिस रामस्वार्थ रायविरुद्ध सुनुवाइ समितिमा पर्‍याे उजुरी

काठमाडौं । डेनमार्कका लागि नेपाली राजदूतमा सिफारिस रामस्वार्थ रायविरुद्ध प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।

विगतमा ठगी कार्यमा संलग्न भएका व्यक्ति राजदूतजस्तो पदमा उपयुक्त छैन भन्दै धनुषा साइन्स क्याम्पस जनकपुरकी सञ्चालक अध्यक्ष हिमालय शाहले शुक्रबार उजुरी गरेकी हुन् ।

निवेदनमा शाहले राजदूत सिफारिस भएका रायविरुद्ध क्याम्पस सञ्चालनका क्रममा र सञ्चालक अध्यक्षका बेला आफूलाई ठगेको, कागजात लुकाएको, आफैलाई थाहा नदिई अन्यत्र खाता खोलेर कारोबार गरेको, क्याम्पसमा बेइमानी र भ्रष्टाचार गरेकोलगायतका आरोप लगाएकी छन् ।

उनले क्याम्पस सञ्चालन गर्दादेखिकै घटनाक्रमको फेहरिस्त लेखेकी छन् । त्यसक्रममा रायले त्रिभुवन विश्वविद्यालयको प्रधानाध्यापक/क्याम्पस प्रमुख हुँदाहुँदै त्रिभुवन विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० (संशोधनसहित) को नियम ६९ विपरीत कुनै पनि निजी क्याम्पसको सञ्चालक समितिमा बस्न नपाउने कानूनी व्यवस्थाविपरीत बसेर ठगी गरेको पनि उजुरीमा उल्लेख छ ।

यस्तै आफ्नो क्याम्पसको सञ्चालक समितिमा रहँदा रायले गरेको भनी लेखापरीक्षणले देखाएका आर्थिक अनियमितताहरूको विवरण पनि उजुरीमा राखिएको छ । उनलाई कारबाही गराउन आफूले गरेका प्रयासहरूको विवरण पनि शाहले उजुरीमा उल्लेख गरेकी छन् ।

उजुरीको अन्तमा लेखिएकाे छ, ‘निजले भ्रष्टाचार तथा ठगी गरेको हुँदा सोउपर अख्तिययार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन भइरहेको छ भने सोही विषयमा जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला सरकारी वकिल कार्यालय धनुषामा निजउपर ठगीको जाहेरी परेको छ । यसरी रामस्वार्थ राय ठग र भ्रष्टाचारी भएकाले निज राजदूत हुन अयोग्य भै उपयुक्त छैन ।’

राय सत्तारूढ गठबन्धनमा जनता समाजवादी पार्टीकाे भागमा परेर डेनमार्कको राजदूतमा सिफारिस भएका हुन् ।

हेर्नुहाेस् उजुरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर