अब त्यो मरुभूमिमा फिर्ने छैनन् चन्द्र – Nepal Press

अब त्यो मरुभूमिमा फिर्ने छैनन् चन्द्र

हाम्रो आँखाअघि तस्बिरमा सरक्क पल्टिदिने मरुभूमिको ‘इमेज’ कस्तो होला ? चर्को घाममा आङ सेकाइरहेको झैं देखिने आँखाले हेरुन्जेलसम्मको बालुवा नै बालुवाको मैदान । छिटफुट सिउँडीका बोटहरुमा झुलेका काँडाहरु र काँडाहरुबीच झुलेका सिउँडीका मसिना फूलहरु । हिँडेर कहिल्यै नथाकेका ऊँटका पैतालाहरु अनि ६० डिग्रीसम्म पुग्ने गर्मीको हपहपी ।

मरुभूमि नटेकेका, तर मरुभूमिबारे अनेक कहावत सुनेकाहरुका लागि सम्भवतः मरुभूमिको सरदर चित्र यस्तै हुनसक्ला । मरुभूमिमै टेकेकाहरुका लागि भने त्यो दुःखको ज्याद्रो कहानी हो । आँसु र पसिनाको मृत सागर हो । बाध्यता र विवशताको महाकाव्य हो ।

‘त्यही मरुभूमिमा मैले जीवनको १५ वर्ष समय सकाएँ । त्यहाँ मेरो श्रम, पसिना र मेहनतको लामो कथा छ । तर, अब म फेरि बहराइन फर्कन्नँ’, कवि चन्द्र गुरुङ भन्छन् ।

डेढ दशकसम्म चन्द्रलाई बहराइनमा मायावी दुःखले अल्झाइदियो । छलकपट गरिरहने दुःखसँग उनले १५ वर्ष उतै बिताइदिए । त्यही गर्मी, त्यही दुःख, त्यही विशाल मरुभूमि अनि काम ! १५ वर्षको जीवनको च्याप्टर पल्टाउँदा चन्द्रसँग यस्तैयस्तै गन्थनमन्थन छन् । डेढ दशकको रात र दिन सम्झँदा यस्तैयस्तै कहानीहरु छन् ।

तर, यही १५ वर्षे बहराइन बसाइले चन्द्रलाई कवि बनाएर स्थापित गराइदियो । मरुभूमिमा क्षणभरमै पुरिने र मेटिने बालुवाका बाटाहरुमा चन्द्रले कविताको गोहो तयार गरे, जो कदापि मेटिनेछैन । चन्द्रका लागि बहराइन भन्नु कविता भइदियो । त्यहाँको चर्को गर्मीमा पसिना र आँसु निचोरेर कविता लेखिदिए ।

के के पाए र गुमाए होला चन्द्रले डेढ दशकसम्ममा ? उनको छोटो उत्तर छ, ‘के के गुमाएँ, त्यसको हिसाब छैन । के पाएँ भन्दा कविता पाएँ । जसले गुमाएका सबैथोकको क्षतिपूर्ति तिरिरहन्छ ।’

२०५५ सालमा काठमाडौंमा बीकम पढ्न आएका चन्द्र सहरका गल्लीहरुमा भौतारिएपछि पत्तो पाए, ‘योग्यताले मात्रै काम गर्दैन रहेछ ।’
उनको पहुँच थिएन ठूला देश जान । अन्ततः साउदी हान्निए । साउदीको उडानसँगै उनले कविताको भ्रुण पनि बोकेका रहेछन् । हजारौं लिटरले भिजाउन नसक्ने मरुभूमिमा पुगेका चन्द्रलाई भने कविताका मसिना विम्ब, प्रतीकहरुले निथ्रुक्क भिजाइदियो । कविता लेखनमा रमाउन थाले । कवितामै रस बस्दै गयो । अन्ततः कवि भए ।

तीन वर्ष साउदीमै सकियो उनको । तलबको स्केलभन्दा ज्यादा क्याल्कुलेटर दबाएर बसे । महिना दिनमा झर्ने तलबको ३० दिनभन्दा सयौं गुणा बढी तलब आउने दिन र उक्त तलबको बाँडफाँटको हिसाब गरेर निदाए ।

कहिलेकाहीँ विरक्तिन्थे । कहिलेकाहीँ ज्यादाजसो दुःखी हुन्थे । कहिले एक्लोपनले गिँजोल्थ्यो उनलाई । तर, सँगसँगै एक्लोपनको सारथीको रुपमा कविता कर्म आइदियो । यही कविको परिचयले सम्हालिन सिके साउदीमा ।

साउदीबाट फिरे । फेरि पढाउन सुरु गरे प्यारागन स्कुल गौशालामा । कवितासंग्रह पनि ल्याए, ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ ।
दुई वर्षसम्म प्यारागनमै रहे । २०६२ सालतिरको समय थियो । जनआन्दोलनको चहलपहल सुरु भइसकेको थियो । कविता–किताब ल्याएका कारण कविहरु स्वप्निल स्मृति, धर्मेन्द्रविक्रम नेम्बाङ, प्रकाश थाम्सुहाङ, चन्द्रवीर तुम्बापोलगायतको संगतमा परे । स्कुल–डेरा–बागबजार यस्तै यस्तै दैनिकी बन्यो ।

स्कुलको जागिर र कविता कर्मले मात्रै चन्द्रलाई काठमाडौंमा बसिरहन दिएन । धेरैथोक मिलाउनुपथ्र्यो उनले । अन्ततः फेरि उडे बहराइन ।
उनलाई कविताको लत लागिसकेको थियो । बहराइन पुगेपछि हिन्दी कविहरुको संगतमा परे सामाजिक सञ्जालमार्फत् । अनि अनुवादक पनि बने । मरमल मसरी, तोरम महमदलगायत अरबियन कविहरूको कविता अनुवाद गरे । सन् २०१८ मा ढाका ट्रान्सलेसन फेस्टिभलमा सहभागी पनि भए ।

हुन त रोबर्ट फ्रस्टले भनेका छन्, ‘कविताको अनुवाद गर्दा शब्दहरू हराउँछन् ।’

ग्रैबियल गार्सिया मार्खेजको ‘वन हन्ड्रेड इयर्स अफ सोलिट्युड’को अनुवादक ग्रेगरी रबस्साले भनेका थिए, ‘अनुवादले मूल रचनाको बराबरी कहिल्यै गर्न सक्दैन । नजिक आउने कोसिस गर्न सक्छ । र, यसको क्षमतामात्रै उसले हासिल गरेको शुद्धताबाट जाँच्न सकिन्छ ।’
तर, पनि चन्द्र भने अनुवादमा पनि उत्तिकै लागिरहे । भन्छन्, ‘म जबरजस्ती अनुवाद गर्ने गर्दिनँ । म पेड अनुवादक होइन । कविताप्रतिको प्रेमले गरेको हो । जुन मनपर्‍यो, त्यही गर्छु ।’

जब जब चन्द्र कविताको लतमा परे, त्यो दुखान्तको मात्रै कथा भन्ला जस्तो देखिने मरुभूमि उनलाई मनपर्न थाल्यो । मरुभूमि एउटी सुन्दरी जस्तो लाग्छ चन्द्रलाई । ऊसँग सौन्दर्य छ । तर उजाड–उजाड अनि बाँझो । कोही आउँछ भनेर कसैलाई पर्खिरहे जस्तो । मलाई सजाउला, बेहुली बनाउला भन्ने आशामा जीवन गुजारेजस्तो । खजुरका बोटहरू हुन्छन् । मरुभूमिको त्यस्तो विषम परिस्थितिमा पनि खजुरसँग हरिया पातहरू हुन्छन् । ती पातहरू देख्दा चन्द्रलाई लाग्छ, ‘खजुरले भन्न खोजेको होला, जीवनको आश अझै बाँकी छ ।’

सिउँडीका फूलहरू त्यस्तो मरुभूमिमा पनि फुलिरहेका हुन्छन् । ऊँट हुन्छ, जो सीमाहीन मरुभूमिमा जीवनको बाटो खोजिरहेका हुन्छन् । अनि कवि अवतारका चन्द्रलाई लाग्न थाल्यो, ‘मैले पनि त मरुभूमिमा आफैभित्र हराएको जीवनको पदचाप खोज्नुपर्छ । मरुभूमिमा त सबैभन्दा सुन्दर र रहस्यमय जीवन अल्झिएको हुँदो रहेछ ।’

अहिले त चन्द्र नेपाल फिरेको १५ महिना भइसक्यो । १५ वर्षे बहराइन यात्रालाई बिट मारिसकेका छन् । नयाँ कविता संग्रह ल्याउने तयारीमा छन्, ‘जब एउटा मान्छे हराउँछ ।’

बहराइनबाट बिदामा नेपाल आएका थिए । नेपाल आइसकेपछि कसोकसो उनलाई बहराइन फेरि फिर्न मन लागेन । उनी सुनाउँछन्, ‘अहिले आएर घरपरिवारलाई समय दिनुपर्छ भन्ने महसुस भयो । सधैँ पैसाको पछि लागेर पनि हुँदैन । जीवनको एउटा विन्दुमा पुगेपछि नाइँ भन्न पनि सक्नुपर्दोरहेछ ।’

अचानक चन्द्रलाई कसोकसो फेरि उतै फर्कन मन लागेन । उता बस्दा बढी नै कवितामा डुबेर बस्थे । यता बस्दा अब कविता सँगसँगै परिवार पनि हुने भए । यसैले पनि बिदामा नेपाल आएका चन्द्र फेरि फिर्न चाहेनन् । अब सधैँका लागि नफिर्ने सोच पनि बनाएका छन् ।

तर, १५–१५ वर्ष विदेश बसाइ त गाह्रै होला है ? चन्द्रको जवाफ छ, ‘म ढिला गएको हुँ विदेश । विदेश जाँदा ३० प्लस भइसकेको थिएँ । तर, बसाइ गाह्रो हुनु स्वाभाविक हो । विवाहित मान्छेलाई परिवारको सामीप्यको महसुस हुन्छ । याद आउँछ, सम्झना आउँछ । तर, त्यहाँको माहोल नै यस्तो हुन्छ कि बिहानदेखि रातिसम्म कामैकाम । बिदाको दिन पनि ओभरटाइमले लोभ्याएर कामैकाम । मलाई चाहिँ लेखनतिर लागेकाले सहज भयो ।’

अहिले बितेको समयलाई फर्केर हेर्दा कस्तो लाग्छ ?

जुन समयमा परिवारसँग बस्नुपर्ने थियो, त्यो समयमा बस्न पाइएन । चाहना र रहर पनि त्यति धेरै छैन । उमेर ढल्कँदो अवस्थामा छ । देशको राजनीतिक, सामाजिक अवस्थाले विदेशिन बाध्य भएको थिएँ । ऊर्जाशील समय आफ्नै परिवारसित बिताउनुपर्ने थियो । तर, बितिहाल्यो । बित्दो रहेछ यसैयसै ।

अहिले फर्केर हेर्दा हिजोजस्तो पनि लाग्छ । केही छुट्यो कि पनि लाग्छ । केही छुटेको जस्तो पनि लाग्दैन । जुन स्टेजमा परिवारलाई छाडेर गएको थिएँ, त्यही स्टेजमा पो छु कि जस्तो महसुस हुन्छ ।

अनि कविता लेखनले पनि विदेश बसाइ सहज बनायो होला है ?

विदेश बसाइलाई उपलब्धिमूलक नै मान्छु । कविताको नजिकमा पुगेँ । कवितामा रमाउन पुगेँ । कविता लेख्न थालेँ । कवितामा लागेकाले परिवारदेखि सबै प्रकारका दुःख, एक्लोपनलाई छेक्न थेरापी जस्तो बन्यो । कविताले मान्छेलाई बाँच्न पनि सहज बनाउँदोरहेछ । कविताले जिन्दगीको धेरै नजिक लाँदोरहेछ ।
०००
चन्द्र गुरुङको एक कविता : जब एउटा मान्छे हराउँछ
…..
एउटा घाम हराउँछ
त्यो घाम झुण्डिने आकाश हराउँछ
आकाशको बादल ओढेर उभिएको पहाड हराउँछ
पहाडलाई भेटन आउने जून हराउँछ
हराउँछन् रातमा जून नदेख्दा ताराहरु
जब एउटा मान्छे हराउँछ ।

एउटा आँगन हराउँछ
त्यहीँ टेक्दै आउने खुट्टाहरु हराउँछन्
ती खुट्टाका आहट पर्खी बसेको ढोका हराउँछ
आँखाहरु देखादेख हुने झ्याल हराउँछ
हराउँछ एउटा घर
हराउँछ एउटा परिवारको सुगन्ध
जब एउटा मान्छे हराउँछ ।

दैनिकीको सुरताल हराउँछ
आँसु थाप्ने हातको स्पर्श हराउँछ
समयको रुपरंग हराउँछ
चराचुरुङ्गीको मधुर चिरबिर हराउँछ
हराउँछ मनको भित्ताबाट खुसीयालीको चित्र
जब एउटा मान्छे हराउँछ ।

एउटा छहरा हराउँछ
त्यो छहराले भेट्न जाने समुद्र हराउँछ
समुद्रसित एकान्तमा बात मार्ने वैँशालु रात हराउँछ
रातसित हात मिलाएर गएको दिन हराउँछ
हराउँछ दिनले उजियालो पार्ने सुन्दर संसार
जब एउटा मान्छे हराउँछ ।

गीतको लय हराउँछ
शीतको विम्बले पातमाथि कोर्ने कविता हराउँछ
मनभरिको व्यथा लेख्ने अक्षर हराउँछ
कथाको एउटा पात्र हराउँछ
हराउँछन् धड्कन व्यक्त गर्ने शब्दहरु
जब एउटा मान्छे हराउँछ ।

त्यही अनुहार आँखाभरि सम्भाल्दै बस्ने
आमाको आशीर्वाद हराउँछ
भत्किएको घरको डीलमा झोक्रिरहेको
बूढो बाको भरोसा हराउँछ
एउटा सिउँदोलाई बेर्ने अँगालो हराउँछ
हराउँछ गालामा बस्न आउने चुम्बनको पुतली
जब एउटा मान्छे हराउँछ ।

एउटा नदी हराउँछ
त्यहीँ किनारमा उदास समयमा उभिने गथ्र्यौं
साथ उक्लने देउराली हराउँछ
बाटोको छातीबाट एउटा पाइताला हराउँछ
आपतमा आश्वस्त पार्ने स्वर हराउँछ
हराउँछ सिंगो पृथ्वी
जब एउटा मान्छे हराउँछ !


प्रतिक्रिया

2 thoughts on “अब त्यो मरुभूमिमा फिर्ने छैनन् चन्द्र

  1. अत्यन्तै मर्मस्पर्शी भोगाइ ! हार्दिक बधाई सर ! हामी जस्ता भूईंमान्छेहरुको आवाज बोलिदिनुभएकोमा ।

  2. मान्छे हराउनु भनेको सबै कुरा हराउनु रहेछ भन्ने कविताको मुल भाव । चन्द्रजीका कविताको बुनोट निक्कै लोभलाग्दो हुनेगर्छ नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर