सामाजिक सञ्जालमा गालीगलौज गर्नेविरुद्ध जस्मिन ओझाले दिइन् साइबर ब्यूरोमा उजुरी – Nepal Press

सामाजिक सञ्जालमा गालीगलौज गर्नेविरुद्ध जस्मिन ओझाले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौं । महिला अधिकारका पक्षमा क्रियाशील अभियन्ता जस्मिन ओझाले पल शाह प्रकरणसँग जोडेर आफूमाथि सामाजिक सञ्जालमा गालीगलौज र भ्रामक टिप्पणी गर्ने विरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।

आपत्तिजनक पोस्टहरूको स्क्रिन सट सहित उनले आज साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।

पल शाहविरुद्ध जाहेरी दिन नाबालिग गायिकालाई सहयोग गरेको भन्दै ओझामाथि भद्दा गालीगलौजहरू भइरहेका छन् । आफ्नोबारे झुट्टा अफवाह फैलाउने तथा गालीगलौज गर्नेहरूमाथि आवश्यक कारबाहीका लागि प्रहरीमा पुगेको ओझाले बताइन् ।

‘अदालतभित्रका संवेदनशील बहसहरू पनि युट्यूवमा प्रसारण गरेर ममाथि भ्रामक र कपोलकल्पित आरोपहरू लगाउने तथा तीनै भिडियोका आधारमा ममाथि अनर्गल टिप्पणीहरू गर्ने क्रम असह्य रूपमा बढेको छ,’ उनले भनिन्, ‘आशा छ, प्रहरीले यसमा संलग्नहरूलाई चाँडोभन्दा चाँडो कानूनी दायरामा ल्याउने छ ।’

नाबालिग गायिकाले आफूमाथि भएको यौन उत्पीडनका बारमा सुनाएपछि उनलाई कानूनी उपचारमा जान सघाएको ओझाको भनाइ छ । तर, पछि अदालतमा पीडितले बयान बदलेर अरूले उक्साएको भरमा जाहेरी दिएको बताएपछि आफूलाई निशाना बनाइएको उनले गुनासो गरिन् । आफूले पीडितकै आग्रहमा उनलाई साथ दिएको भन्दै ओझाले अदालतले दिने फैसला नै सर्वोपरि हुने बताइन् ।

‘आफूमाथि यौन उत्पीडन भयो भनेर एउटा नाबालिगले सहयोग मागेपछि कानूनको विद्यार्थीको नाताले सकेको सहयोग गरेको हुँ, अन्यथा यो मुद्दामा मेरो व्यक्तिगत स्वार्थ केही पनि छैन,’ उनले भनिन्, ‘मलाई लाञ्छित गर्नुको साटो अदालतको फैसलाको प्रतीक्षा गर्न सबैसँग अपिल गर्दछु ।’

अहिले अदालतमा विचाराधीन मुद्दा भएकाले धेरै नबोल्ने भन्दै उनले समय आएपछि सबै यथार्थ सप्रमाण सार्वजनिक गर्ने पनि बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर