जिल्लामा गठबन्धन पेचिलो- केन्द्रबाटै तोकेर पठाउन देउवामाथि अन्य दलको दबाब – Nepal Press

जिल्लामा गठबन्धन पेचिलो- केन्द्रबाटै तोकेर पठाउन देउवामाथि अन्य दलको दबाब

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाहरूको सिट बाँडफाँट केन्द्रबाट भए पनि अन्य पालिकाहरूको भागबण्डा हुन नसकेपछि केन्द्रबाटै पालिका तोकेर पठाउन प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढेको छ ।

जिल्ला स्तरमा गठबन्धन दलहरुबीच भागबण्डा हुनै नसकेर एक्ला एक्लै लड्न कांग्रेस अग्रसर भएको भन्दै अन्य दलले ७५३ वटै पालिकाको बाँडफाँट केन्द्रबाटै गरेर प्रदेशलाई निर्णय कार्यान्वयनका लागि पठाउन दबाब परेको हो ।

विशेष गरी देशैभर कांग्रेसले एक्लै लड्न खोजेको र भागबण्डामा अन्य दललाई प्रमुख पद दिन कन्जुस्याइँ गरेपछि केन्द्रबाटै ह्विप लगाउन देउवालाई शीर्ष नेताहरूले आग्रह गरेका छन् ।

विशेषसरि नेकपा एकीकृत समाजवादीले जिल्ला तहबाट भागबण्डा सम्भव नभएको भन्दै शीर्ष तहबाट टुंग्याउन माग गरेको छ ।

नेकपा एसका एक शीर्ष नेताले भने–केन्द्रमा देउवा गठबन्धनप्रति जसरी उदार बन्नुभएको छ,तल्लो तहका नेताहरू उत्तिकै अनुदार देखिए ।

सबैतिर आफू मात्रै लिने र उसले दिएको भागमा चित्त बुझाउनुपर्ने भएपछि अन्तिम घडीमा गठबन्धन कतै नहुने खतरा भयो । अझ कतिपय ठाउँमा कांग्रेस र माओवादी मात्र मिलेर हामीलाई बाइपास गरेका छन् ।

झापा,सिन्धुली,ओखलढुंगा लगायतका जिल्लामा कांग्रेस र माओवादी मात्र गठबन्धन गर्न सहमत भएका छन् ।

धेरैजसो जिल्लामा नेकपा एसलाई वडाध्यक्ष र सदस्यमा सीमित गर्ने र कतिपयमा उपप्रमुखबाहेक नदिने अवस्था भएकाले अध्यक्ष माधव नेपालले नै देउवा र प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

केन्द्रबाट हस्तक्षेप नगर्ने हो भने धेरै ठाउँमा गठबन्धन नहुने देखिएकाले शीर्ष तहमै शनिवारै छलफल हुने सम्भावना रहेको नेताहरूले बताएका छन् । कांग्रेसले पनि कार्य सम्पादन समितिको बैठक स्थगित गरेर छलफल थालेको छ ।

जिल्लाहरूलाई भागबण्डाको अधिकार दिने हो भने धेरैजसो ठाउँमा सहमति हुन नसक्ने देखिएकोले केन्द्रबाट अधिकतम पालिका तोकेर पठाउनका लागि बैठक माग भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर