भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी – Nepal Press

भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी

चितवन । भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई छाडेकामा असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता कार्यकर्ताले सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

असन्तुष्ट पक्षले आज साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

भरतपुरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसबाट उम्मेदवार उठाउने गरी सत्ता गठबन्धनमा निर्णय भएपछि जिल्ला तहका नेता कार्यकर्ताहरू रुष्ट बनेका छन् ।

यसअघि जिल्ला सभापति पनि महानगरको मेयर नछाड्ने पक्षमा थिए । गठबन्धनको निर्णय भएपछि खनालले केन्द्रीय परिपत्र विपरीत गतिविधि नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।

त्यसपछि झनै रुष्ट बनेका कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्व सांसद जगन्नाथ पौडेललगायतका नेताहरूले सभापति खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । जिल्ला पार्टी कार्यालयमा भएको भेला पश्चात् उनीहरूले तालाबन्दी गरेका हुन् ।

भरतपुरको मेयरमा गठबन्धनका तर्फबाट माओवादीकी रेणु दाहालले पुनः उम्मेदवारी दिने भएकी छन् । त्यसका लागि उनले आजै मेयरको पदबाट राजीनामा समेत दिइसकेकी छन् । उनले उपमेयर पार्वती शाह ठकुरीसमक्ष राजीनामा दिएकी हुन् ।

रेणु दाहालले रुख चिह्नबाट चुनाव लड्ने हो भने छलफल गर्न सकिने पूर्व सांसद पौडेलले बताएका छन् ।

जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गर्दा कांग्रेस महासमिति सदस्य मिना खरेल, जिल्ला सह–सचिव गोपाल दराईलगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले भरतपुरको मेयरमा रेणु दाहाललाई सहयोग गरेको थियो ।

न्यूज कारखाना


प्रतिक्रिया

One thought on “भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर