आखिर के हो ‘षट्कोण’ ? – Nepal Press

आखिर के हो ‘षट्कोण’ ?

काठमाडाैं । आगामी बैशाख २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘षट्कोण’को बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरियो । चलचित्रको पहिलो पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका मुख्य कलाकार कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, निर्देशक मिलन डि काप्री र निर्माता तथा अभिनेता विराज कडरिया उपस्थित थिए ।

कार्यक्रममा निर्देशक मिलनले ‘षट्कोण’ युवाहरुको टिमले बनाएको साइकोलोजिकल थ्रिलर सिनेमा रहेको बताए । ‘हामीले नेपालमा बन्ने अन्य सिनेमाभन्दा केही फरक बनाउने कोसिस गरेका छौं । मेरो सिनेमामा हिरोहिरोइनको फाइट र नाचगान छैन’, उनले भने, ‘तर, कथा सुहाउँदो गीत चाहिँ राखेको छु ।’

त्यसैले नेपालमा केही फरक सिनेमा निर्माण गर्ने प्रयासमा सबैको साथको खाँचो रहेको मिलनले उल्लेख गरे ।

सिनेमाका मुख्य कलाकार कर्माले आफू नेपाली सिनेमामा स्टार बन्न नआएको बताए । त्यसैले पनि आफ्नो रोजाइमा फरक सिनेमा बढी पर्ने उनले सुनाए । अभिनेता कर्माले आफ्नो नामको अर्थ स्टार अर्थात् तारा भए पनि आफू तारा बन्न सिनेमा क्षेत्रमा नआएको बताए । ‘मलाई तारा बन्नु पनि छैन । स्टार भनेको चम्किरहने हो । मैले नाम त रोजेँ, त्यो बेग्लै कुरा हो । मलाई कलाकारिता गर्नु छ विशुद्ध भुईंमा बसेर । तर, स्टार बन्ने मेरो इच्छा छैन ‘, उनले भने ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र यही बैशाख २३ गतेबाट नेपालभर रिलिज हुनेछ । कोरोना महामारीअगाडि नै निर्माण भएको चलचित्र सम्पूर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेका थियाे । अहिले समय उत्तम लागेकाले रिलिज गर्न  लागिएको निर्माण टिमको भनाइ छ ।

चलचित्रमा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् ।

चलचित्रमा आङ्छेन लामाको छायाँकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीकाे सम्पादन रहेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर