दैलेखमा २२ मुख्य पदमध्ये १७ मा कांग्रेसको दावी, सुर्खेतमा कांग्रेस संस्थापनसँग इतरले माग्यो ४० प्रतिशत – Nepal Press

दैलेखमा २२ मुख्य पदमध्ये १७ मा कांग्रेसको दावी, सुर्खेतमा कांग्रेस संस्थापनसँग इतरले माग्यो ४० प्रतिशत

सुर्खेत । नेपाली कांग्रेस दैलेखले गठबन्धनको प्रदेश संयन्त्रलाई दैलेखका ११ पालिकाका २२ प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षमध्ये १७ पदमा दाबी गरेको छ । कांग्रेसले १७ पद नपाए गठबन्धन कायम नहुने चेतावनीसमेत दिएको बताइएको छ ।

कांग्रेस स्रोतका अनुसार दैलेख सदरमुकाम नारायण नगरपालिका प्रमुखमा पार्टीले दाबी गरेको छ । २०७४ सालको निर्वाचनमा यहाँ एमालेले जितेको थियो ।

यस्तै कांग्रेसले महावु गाउँपालिका समाजवादीको भागमा पर्ने भन्दै भगवतीमाई गाउँपालिकामा दाबी गरेको छ । नौमुले, गुराँस, डुंगेश्वर गाउँपालिकामा काँग्रेसले नै जितेका कारण त्यहाँ आफ्नो स्वाभाविक दाबी रहेको कांग्रेस नेताहरुको भनाइ छ ।

निर्वाचन क्षेत्र नम्बर २ को दुल्लु नगरपालिकामा नगर प्रमुख दाबी गरेको कांग्रेसले चामुण्डा विन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका, भैरवी गाउँपालिका र आठबीस नगरपालिकामा पनि दाबी गरेको छ । यो क्षेत्रका पाँच पालिकामध्ये दुल्लुमा नगर प्रुमख कांग्रेसले जितेको थियो । अन्य पालिकामा एमालेले जीत हात पारेको थियो ।

एमालेले जितेका पालिका आफूले पाउनुपर्ने माग गर्दै आएको नेकपा एकीकृत समाजवादीले भने हदैसम्म लचक भएर सहमति गरिने जनाएको छ । नेकपा माओवादीले आफूलाई पनि पालिकाको नेतृत्व चाहिने भन्दै माग गरेको छ ।

‘हामी दैलेखमा पहिलो शक्तिका रुपमा उदाउँछौं । यहाँ गठबन्धनको प्रयास गर्दा पनि मिल्न सकेन । त्यसैले प्रदेश संयन्त्रमा आफ्नो मागसहित पत्र पठाइसकेका छौं’, कांग्रेस जिल्ला सभापति मणिराम रेग्मीले भने, ‘यदि दाबी गरेअनुसार भागबन्डा नभए हामीलाई गाह्रो हुनेछ ।’

उनले कांग्रेसका क्षेत्रीय कमिटीहरु वडाअध्यक्ष चयन गर्न लागिरहेकोसमेत बताए । ‘हाम्रा क्षेत्रीय कमिटीहरु वडा अध्यक्षको उम्मेदवार टुंग्याउन लागिरहेका छन् । हामी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवारी टुंग्याउन लागेका छौं’, सभापति रेग्मीले थपे, ‘आज रातिसम्म टिकट वितरणको निर्णय गर्छौं । नगरपालिकाका प्रमुख तथा उपप्रमुखको हकमा प्रदेश कार्यसमितिले टुंग्याउनेछ ।’

कर्णाली प्रदेशका ७९ वटा पालिकामा भागबन्डा गर्न अहिले प्रदेश संयन्त्रको बैठक बसिरहेको छ ।

कांग्रेसभित्र शेखर समूहद्वारा ४० प्रतिशत माग

यता २०७४ सालको स्थानीय तह निर्वाचनमा सुर्खेतका ९ मध्ये ६ पालिकामा जीत हात पारेको कांग्रेसभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । यहाँ माओवादीले तीन र एकीकृत समाजवादीले दुई पालिकामा दाबी गरेका छन् ।

तर, कांग्रेसको संस्थापन पक्षले अहिलेसम्म शेखर कोइराला पक्षसँग सिट बाँडफाँटका विषयमा छलफल गरेको छैन ।

संस्थापन पक्षले आफूहरुलाई पेलेर जाने रणनीति बनाएको खण्डमा सुर्खेत उद्योग वाणिज्य संघको चुनाव जस्तै देखाइदिने तयारीमा कांग्रेसको संस्थापन समूह लागेको बताइएको छ ।

सुर्खेतमा एकलौटी रुपमा संस्थापन पक्ष अघि बढिरहेको आरोप लगाउँदै कांग्रेसको भागमा पर्ने पालिकाको ४० प्रतिशतमा आफ्नो नेतृत्व हुनुपर्ने माग शेखर समूहले राख्दै आएको छ । ‘अहिलेसम्म कुनै छलफल भएको छैन’, कांग्रेसका निवर्तमान सभापति कमलराज रेग्मीले भने, ‘हामी पर्ख र हेरको अवस्था छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर