सुदूरपश्चिममा एक्लै चुनाव लड्ने नेकपा एसको तयारी, तल्ला कमिटीलाई सर्कुलर – Nepal Press

सुदूरपश्चिममा एक्लै चुनाव लड्ने नेकपा एसको तयारी, तल्ला कमिटीलाई सर्कुलर

धनगढी । नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचनका लागि सुदूरपश्चिमका सबै पालिकामा एकल उम्मेदवारी दिने भएको छ । उक्त पार्टीले सुदूरपश्चिमका ८८ पालिकासहित सम्पूर्ण वडामा उम्मेदवारी दिने भएको हो ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले तल्ला कमिटीहरूलाई आन्तरिक सर्कुलरमार्फत यस्तो नीति तय गरेको हो ।

सत्ता गठबन्धनको शीर्ष नेतृत्वले सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको मेयर कांग्रेसलाई दिने निर्णय गरेको थियो । उपमेयरको स्वाभाविक दाबेदार एकीकृत समाजवादीलाई उक्त उम्मेदवारीबाट वञ्चित गरिएपछि समाजवादीको स्थानीय नेतृत्वमा आक्रोश चुलिएको छ ।

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदको सबभन्दा ठूलो दल हो । उक्त दलले धनगढीमा माओवादीको तुलनामा आफ्नो स्थिति सुदृढ रहेको दाबी गर्दै आएको छ । तर, उपमेयरको उम्मेदवारी माओवादीलाई दिने निर्णयले धनगढीको जनमतमाथि धाबा बोलिएको भन्दै समाजवादीका स्थानीय नेताहरू असन्तुष्ट छन् ।

जनतामाझ पार्टीको जबर्जस्त उपस्थिति देखाउन सबै ठाउँमा उम्मेदवारी दिन लागिएको प्रदेश कमिटीका एक नेताले बताए ।

समाजवादीले यस्तो निर्णय लिएपछि कांग्रेस भने झस्किएको छ । गठबन्धनको केन्द्रीय नेतृत्वले सुदूरपश्चिमको एकमात्र उपमहानगरमा कांग्रेसलाई प्रमुख र उपप्रमुख माओवादी केन्द्रलाई दिने निर्णय गरिसकेको छ । वडाहरुमा समाजवादीलाई सम्मानजनक उम्मेदवारी दिने केन्द्रको निर्णय छ ।

धनगढी उपमहानगरमा जसले जस्तोसुकै गठबन्धन गरे पनि स्वतन्त्र उम्मेदवार गोपाल हमाल हेभिवेट मानिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर