एनआईसी एशियाले तेस्रो त्रैमासमा कमायो ३ अर्ब ६० करोड मुनाफा, अधिकांस वित्तीय परिसूचक उत्साहजनक – Nepal Press

एनआईसी एशियाले तेस्रो त्रैमासमा कमायो ३ अर्ब ६० करोड मुनाफा, अधिकांस वित्तीय परिसूचक उत्साहजनक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आव २०७८/७९ को तेस्रो तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र परिसूचकहरू उत्साहजनक रहेका छन् ।

बैंकले आव २०७८/७९ को तेस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७४.७४ अर्ब रुपैयाँ पुर्‍याउन सफल भएको छ । साथै, कुल निक्षेप संकलन ३०२.८१ अर्ब पुगेको छ । बैंकले यस तेस्रो त्रैमासमा ३.६० अर्ब खुद मुनाफा आर्जन गरेको छ । यो वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो ।

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । साथै, यस बैंकको वार्षिक प्रतिसेयर आम्दानी ४१.९४ रुपैयाँ रहेको छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले निष्कृय कर्जालाई तेस्रो त्रैमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

बैंकले आव २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ९ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाखभन्दा बढी खाताहरूमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै, तेस्रो त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकिङ क्षेत्रका विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आव २०७८/७९ को दोस्रो, तेस्रो त्रैमासमा कर्जा विस्तार, निक्षेप संकलन, प्रतिसेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, ग्राहक संख्या, शाखा संख्या, विस्तारित काउन्टर संख्या, एटिएम संख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ प्रयोगकर्ता र सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था अघिको) मा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (ग्राहक संख्यामा निजी बैंकहरुमा पहिलो) ओगट्न सफल भएको थियो ।

यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर