ए मेरो हजुरले पहिलो सातामा कमायो ४ करोड १० लाख – Nepal Press

ए मेरो हजुरले पहिलो सातामा कमायो ४ करोड १० लाख

काठमाडौं । भारतीय चलचित्रको दवदवाका बीच झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ ले पहिलो सातामा सुखद व्यापार गरेको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार गत बिहिबार रिलिज भएको चलचित्रले ७ दिनमा ४.१ करोड रुपैयाँ कलेक्सन गरेको हो । यद्यपि, चलचित्रको लगानी सुरक्षित भइसकेको छैन ।

महंगो बजेटमा बनेको दक्षिण भारतीय चलचित्र ‘केजीएफ २’ को होहल्लाबीच ‘ए मेरो हजुर ४’ को व्यापार संशयमा परेको थियो । सिनेमा हलहरुले केजीएफ २ लाई काखी च्याप्दै नेपाली चलचित्रलाई सिमित शोमा खुम्च्याएका थिए । यसका बाबजुद अनमोल केसीको स्टार पावर र बलियो ब्रान्डको बलमा चलचित्र ‘हिट’ हुनेतर्फ अग्रसर भएको हो ।

चलचित्रले पहिलो दिन बिहिबार ८८ लाखको व्यापार गरेको थियो भने दोस्रो दिन ६६ लाख र तेस्रो दिन शनिबार ८९ लाख ग्रस कलेक्सन गरेको थियो । त्यसपछिका चार दिनमा क्रमस ४५ लाख, ४१ लाख, ३६ लाख र ३६ लाखको व्यापार गर्दै ४ करोड कलेक्सन नघाएको हो । आउँदो शनिबार चलचित्रले उच्च व्यापार गर्ने निर्माण पक्षको आशा छ । अर्को साता पनि अहिलेको रफ्तारलाई निरन्तरता दिएको खण्डमा चलचित्रले निर्मातालाई नाफा दिलाउने सम्भावना छ ।

चलचित्र रिलिजअघि केजीएफसँग तुलना गरेर सामाजिक सञ्जालमा नेपालीहरुले नै ए मेरो हजुरलाई ट्रोल गरेका थिए । रिलिजपछि भने चलचित्रले सुखद प्रतिक्रिया पाइरहेको छ । अभिनेता अनमोल केसीले चलचित्रको व्यापारिक विवरण पोष्ट गर्दै दर्शकलाई धन्यवाद दिएका छन् ।

करिब ३ करोडको लागतमा बनेको फिल्मले लगानी उठाउनका लागि मात्रै ७-८ करोडको ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर