सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा निर्माण व्यवसायीहरुको धर्ना, माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी (भिडिओ) – Nepal Press

सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा निर्माण व्यवसायीहरुको धर्ना, माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी (भिडिओ)

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै बिहीबार सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा एक-एक घण्टा धर्ना दिएको छ ।

महासंघ अध्यक्ष रवि सिंहको नेतृत्वमा व्यवसायीहरूले बिहान ११ देखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालय र दिउँसो १ देखि २ बजेसम्म बीमा समितिको कार्यालयमा धर्ना दिएका हुन् ।

धर्नामा सहभागीहरूले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्नेलगायतका नारा लगाएका थिए । आफ्ना मागहरू सम्बन्धित सरकारी निकायहरुमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएकाले बाध्य भएर धर्ना दिनुपरेको महासंघ अध्यक्ष सिंहले बताए ।

उनले निर्माण उद्योगका समस्या समाधान गर्न महासंघले पर्याप्त समय दिँदासमेत मागहरू सम्बोधन नभएको जानकारी दिए ।

सरकारी नीति नियम समय सापेक्ष नभएकाले निर्माण उद्योग धराशायी भएको भन्दै महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले आन्दोलन रहर नभई बाध्यता भएको बताए ।

जटिल अवस्थाबाट गुज्रिरहेको नेपालको निर्माण उद्योगलाई सही दिशा दिई भौतिक पूर्वाधारको क्षेत्रमा समर्पित सबैखाले निर्माण व्यवसायीहरूको वृत्ति विकासका लागि महासंघले उठाएका मागहरू कार्यान्वयन गर्नु अपरिहार्य रहेको महासंघका महासचिव रोशन दाहालले बताए ।

त्यस्तै बीमा निर्देशिका २०७८ को खारेजी एवं संशोधनको लागि पटक पटक पत्राचार तथा ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएको महासंघले जनाएको छ । बीमा निर्देशिका खारेजीसम्बन्धी महासंघको आन्दोलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ईप्पानले पनि ऐक्यबद्धता जनाएको छ ।

ऊर्जा उत्पादकहरू पनि सहभागी धर्ना कार्यक्रममा ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कुनै पनि दृष्टिकोणले व्यवसायीको पक्षमा नरहेको निर्देशिका खारेज गर्नुको विकल्प नरहेको औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर