कांग्रेसको असन्तुष्टिबीच जनकपुरधाम मेयरमा लालकिशोरले मार्लान् बाजी ? – Nepal Press

कांग्रेसको असन्तुष्टिबीच जनकपुरधाम मेयरमा लालकिशोरले मार्लान् बाजी ?

जनकपुरधाम । जनकपुरधाममा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट झण्डै ११ हजार मतान्तरले मेयरमा लालकिशोर साह विजयी भएका थिए । यसबीच महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबीच एकीकरण भइ जनता समाजवादी पार्टी (जसपा) बन्यो । तर, धेरै समय नेताहरुको मन मिल्न सकेन । सत्ताको खेलमा पुनः तत्कालीन राजपाका नेताहरु अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे ।

तत्कालीन राजपाका धेरै नेता–कार्यकर्ताले लोसपा रोजे । तर, मेयर साहले उपेन्द्र यादवकै नेतृत्व स्वीकारे र जसपामै बसे । आसन्न स्थानीय तह निर्वाचनमा जसपाले पुनः साहलाई नै मेयरमा अघि सारेको छ । सत्ता गठबन्धनको भागबन्डामा जसपाले जनकपुरधाम नै भाग पायो ।
अहिलेसम्म साहको भाग्यले राजनीतिमा साथ दिएको छ । तर, आगामी यात्रा उनको लागि अत्यन्त कठिन देखिन्छ ।

कठिन यो मानेमा कि नेपाली कांग्रेसका नेताहरु गठबन्धन स्वीकार्न तयार छैनन् । जनकपुरधामको मेयर जसपालाई दिएको भन्दै स्थानीय कांग्रेस नेताहरु आक्रोशित छन् । पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध जनकपुरका नेता–कार्यकर्ताले बुधबार साँझ टायर बालेर नाराजुलुस गरे । उनीहरुले निर्णय नसच्याए विद्रोह गर्ने चेतावनीसमेत दिए ।

कांग्रेसका नगर उपसभापति राकेशविक्रम साह विगतको मत परिणामको समेत ख्याल नगरी जसपालाई मेयर दिने गठबन्धनको निर्णयबाट आफूहरु दुःखी बनेको बताउँछन् । ‘२५ वटै वडामा हामी मजबुत छौं । चुनाव जित्ने अवस्था थियो । त्यसैले जसपालाई मेयर दिने निर्णय सच्याउन पार्टी नेतृत्वलाई भनेका छौं’, उनले भने, ‘तर, निर्णय सच्याउँछ जस्तो लाग्दैन । यदि निर्णय सच्याइएन भने जसपाको मेयरलाई भोट दिन सक्दैनौं । हामीले पाएको उपमेयरलाई मात्र भोट दिन्छौं ।’

जसपाको मेयरका लागि भोट पनि माग्न नसकिने भन्दै उनले आफूहरु मौन बस्ने बताए । यहाँका कांग्रेस कार्यकर्ताहरुसमेत गठबन्धनको नाममा जसपाका मेयर उम्मेदवार लालकिशोर साहलाई भोट दिने अवस्थामा देखिँदैनन् । कार्यकर्ताहरुसमेत विद्रोह गर्ने मनस्थितिमा छन् । कैयौं कार्यकर्ताले जसपाको मेयरलाई भोट दिन नसकिने पीडा सामाजिक सञ्जालमा पोखिरहेका छन् ।

कांग्रेसका सक्रिय सदस्य अनिलकुमार कर्ण लेख्छन्, ‘मनोज साहजी, खुट्टा नकमाउनुस् । चुनाव लड्नुस् । भ्रष्ट र अनैतिक गठ उम्मेदवारका विरुद्ध तपाईसँग सबै कांग्रेसी र जनता छन् ।’

मनोज साह कांग्रेसका जनकपुर नगर सभापति हुन् । ०७४ सालको निर्वाचनमा मेयरमा उठेका उनी दोस्रो स्थानमा थिए । यो निर्वाचनमा पनि उनी मेयरका प्रवल दावेदार थिए । तर गठबन्धन गरेपछि मेयर बन्ने उनको सपनामा ब्रेक लागेको छ । त्यसैले पार्टीमा विद्रोह गरेर भए पनि मेयरमा उठ्न अनिल कर्ण जस्ता धेरै कार्यकर्ताले उनलाई सुझाव दिइरहेका छन् ।

साहले भने पार्टीविरुद्ध विद्रोह गर्ने सम्भावना न्यून छ । तर, उनल उम्मेदवारी नदिए पनि कांग्रेसको भोट सत्ता गठबन्धन अर्थात् जसपाका मेयर उम्मेदवार लालकिशोर साहलाई जाने सम्भावना पनि कमै छ । यस्तो अवस्थामा मुख्य प्रतिस्पर्धी दल नेकपा एमाले वा लोसपालाई फाइदा पुग्ने अड्कल गर्न थालिएको छ । वीरगञ्जमा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध एमाले र लोसपाले गठबन्धन गरेका छन् । जनकपुरमा पनि ती दुई दलले गठबन्धन गरे भने सत्ता गठबन्धन अर्थात् जसपाका उम्मेदवारलाई जित्न मुस्किल हुने स्थानीय बताउँछन् ।

जसपाले पुनः मेयर बनाउन चाहेका साहको काम–कारबाहीबाट जनकपुरबासी असन्तुष्ट छन् । ‘५ वर्षे कार्यकालमा उनले फोहोर फाल्ने डम्पिङ साइटसमेत बनाउन सकेनन्’, जनकपुरका एक व्यापारीले भने, ‘फोहोरले बजार क्षेत्र जहिल्यै कुरुप हुन्छ । लामखुट्टेको आतंक छ । तर यो सामान्य समस्या पनि समाधान गरेनन् । त्यसैले अब विकास गर्ने नेतालाई ल्याउनुपर्छ ।’

२०७४ को चुनावमा २१ हजार ९०३ मत ल्याएर साह मेयरमा विजयी भएका थिए । दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत ल्याएका थिए । उपेन्द्र यादव नेतृत्वको पार्टीबाट मेयरमा उठेका विष्णुदेव साहले ३ हजार ६१२ मत ल्याएको निर्वाचन आयोगको तथ्यांक छ ।

मेयर साहले जसपा रोजे पनि उनका धेरै कार्यकर्ताहरुले भने लोसपा फर्के । राजपाबाटै निर्वाचित उपमेयर र वडाध्यक्षहरु अहिले पनि लोसपामै छन् । जनकपुरधाममा अहिले पनि जसपाको जनाधार त्यति अब्बल छैन, जति लोसपाको जनाधार छ । यस्तो अवस्थामा एमाले र लोसपाबीच वीरगञ्जमा जस्तै गठबन्धन भयो भने सत्ता गठबन्धन अर्थात् जसपाका मेयर उम्मेदवारलाई जित्न धौ धौ पर्ने निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर