सुख्खायाम नसकिँदै मेलम्चीबासीलाई बढ्न थाल्यो बाढीपहिरोको चिन्ता – Nepal Press

सुख्खायाम नसकिँदै मेलम्चीबासीलाई बढ्न थाल्यो बाढीपहिरोको चिन्ता

सिन्धुपाल्चोक । हेलम्बु र मेलम्चीका बाढीपहिरो पीडितलाई सुख्खायाम नसकिँदै वर्षायामको चिन्ता लागेको छ । बाढी प्रभावित भएर घरबास गुमाएमा आधाभन्दा बढी नागरिकलाई जीवन गुजारा चलाउने चिन्ता सँगसँगै नजिकिँदो बर्खाले पनि पिरोल्न थालेको छ ।

मेलम्चीकी रमा धिताल भन्छिन्, ‘जग्गाको कमाइ बेचेर घर व्यवहार चलेको थियो । अहिले गुजारा गर्न धौ(धौ भएको छ । अहिले कोठा भाडामा बस्दै आएका छौँ । कमाइ गर्ने एक रोपनी खेतमा गेग्रान थुप्रिएको छ । धिताल परिवारको मनमा भने कसरी गुजारा चलाउने भन्ने चिन्ता छ ।’

आम्दानीको स्रोत पसल पनि घरसँगै बाढीमा पर्‍यो, चनौटेका सागर श्रेष्ठ भन्छन्, ‘अब खाद्य संकटले सताउला भन्ने पो चिन्ता छ । बाढीले बगाएको घरको २० लाख ऋण नेपाल राष्ट्र बैंकमा तिर्न नसकेर समस्या छ ।’

बाढीले ल्याएको १७ मिटरसम्मको गेग्रान उस्तै छ । मेलम्ची नदीले पुरानै धार समाउन सकेको छैन । अब वर्षायाम सुरु हुन दुई महिना मात्र बाँकी रहँदा फेरि बाढी आए के हुने हो ? बाढी प्रभावित बाटुली श्रेष्ठको चिन्ता छ ।

खेतीयोग्य जमिन कति गुम्यो सरकारले अहिलेसम्म तथ्यांक संकलन गर्न भ्याएको छैन । पहिले घर खेत हुने ठाउँमा अहिले खोला बग्छ । बचेका बस्ती, सडक र झोलुङ्गे पुल जोगाउन स्थानीय सरकारले चासो देखाएको छैन ।

चनौटेको बेलिब्रिज बनाउनेबाहेक केन्द्र सरकारले अरु काम गर्न नसकेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । गत १ असार र १६ साउनमा आएको बाढीले मेलम्ची, हेलम्बु र याङ्ग्री क्षेत्रका ७० प्रतिशत बढी नागरिक विस्थापित भए थिए । सरकारले सबै बिस्थापितलाई सुरक्षित स्थानमा घर जग्गा उपलब्ध गराउने र अस्थायी टहरामा बस्नेलाई पाँच लाख दिने भनिएको थियो । तर, जुन पूरा हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर