वडाको भागबन्डाले धरान कांग्रेसमा किचलो बढ्यो, संस्थापन पक्ष असन्तुष्ट – Nepal Press

वडाको भागबन्डाले धरान कांग्रेसमा किचलो बढ्यो, संस्थापन पक्ष असन्तुष्ट

धरान । चुनावी तालमेलका क्रममा वडाको बाँडफाँटको विषयमा नेपाली कांग्रेस धरानमा आन्तरिक विवाद देखिएको छ । चुनावी तालमेलका नाममा आफ्नो पक्ष बलियो रहेका वडाहरु अन्य दललाई बुझाएको भन्दै संस्थापन पक्षका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

गठबन्धनमा कांग्रेसले धरान उपमहानगरपालिकाको मेयरसहित १३ वटा वडाको नेतृत्व पाउने सहमति भएको थियो । कांग्रेसको धरान नगर समितिको सभापतिमा संस्थापनइतर पक्षका नेता श्याम पोखरेल रहेका छन् ।

वडाको नेतृत्व बाँडफाँटको विषयमा विवाद बढ्दा असन्तुष्ट पक्षले गठबन्धनको पत्रकार सम्मेलनस्थलमै नाराबाजीसमेत गरेको छ ।

संस्थापन पक्षका नेता अजय राईले पार्टीको आन्तरिक राजनीतिको प्रतिशोध निर्वाचनमा लिन खोजिएको आरोप लगाए । ‘१४ औं महाधिवेशनको धङधङी देखाएर हामी बलियो भएका वडाहरुमात्रै माओवादी र समाजवादीलाई दिने काम भएको छ । हाम्रो समूहको अस्तित्व नै सिध्याउने गरी भएको निर्णय हामीलाई मान्य छैन’, राईले भने ।

धरान कांग्रेसकै नेता नारद राईले पनि वडाका कार्यकर्ताको भावनाविपरीत भागबन्डा गरिएको आरोप लगाए । ‘बुथ सभापति, क्षेत्रीय प्रतिनिधि, वडाको जनमत नबुझी नगर नेतृत्वले एकतर्फी टिकट अरुलाई बाँडेकोमा हाम्रो आपत्ति छ’, राईले भने ।

गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ नम्बर वडामा अध्यक्ष लिने र अन्यमा छाड्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर