रुपन्देहीमा निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना तयार – Nepal Press

रुपन्देहीमा निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना तयार

रुपन्देही । रुपन्देहीमा निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना तयार भएकाे छ ।

रुपन्देहीमा बिहीबार मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त जानकारी दिएका हुन् ।

भैरहवास्थित बालमन्दिरमा स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयको उद्घाटन प्रमुख जिल्ला अधिकारी तिवारी र मुख्य निर्वाचन अधिकृत धनसिंह महराले गरेका छन् ।

उक्त अवसरमा प्रजिअ तिवारीले गृह मन्त्रालयले निर्वाचनसम्बन्धी एकीकृत सुरक्षा तयार गरिसकेको र जिल्ला सुरक्षा समितिले पनि जिल्लाको एकीकृत सुरक्षा योजना तयार गरिसकेको बताए ।

उनले निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेर प्रादेशिक रुपमा तालिम सम्पन्न गरिसकेको र सोहीअनुसार सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगिसकेको बताए ।

‘हामी निर्वाचनको सघन चरणमा प्रवेश गरेका छौं’, उनले भने, ‘निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमबमोजिम गतिविधिलाई नियमित रुपमा सञ्चालन गरेर वैशाख ३० गते निर्वाचन सम्पन्न गर्छौं ।’

सुरक्षाको व्यवस्थापन पूर्ण रुपमा सम्पन्न भइसकेको प्रजिअ तिवारीले जानकारी दिए । ‘सुरक्षा योजनाले प्रत्येक मतदाता, उम्मेदवार र कर्मचारी जो निर्वाचनमा संलग्न हुन्छन्, उनीहरुको सुरक्षालाई प्रत्याभूति गर्छ’, प्रजिअ तिवारीले भने, ‘हामी सुरक्षित, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्ने तयारीमा लागेका छौं ।’

मुख्य निर्वाचन अधिकृत महराले निर्वाचनमा आचारसंहिता पालना गर्नुपर्ने बताए । उनले आचारसंहिता पालना गरेमात्रै निर्वाचन सफल गर्न सकिने औंल्याए ।

‘आचारसंहिता पालनामा कडाइ हुन्छ । सबैलाई समान व्यवहार हुन्छ’, प्रमुख निर्वाचन अधिकृत महराले भने, ‘सबैबाट सहयोगको अपेक्षा गरेका छौं । हामी उत्साहित छौं ।’

कार्यक्रम जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले सञ्चालन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर