भोजपुरको पौवादुङमामा टुट्यो गठबन्धन, माओवादी र कांग्रेस एक्लाएक्लै भिड्ने – Nepal Press

भोजपुरको पौवादुङमामा टुट्यो गठबन्धन, माओवादी र कांग्रेस एक्लाएक्लै भिड्ने

भोजपुर । भागबण्डा सकिएको भोलिपल्टै भोजपुरको पौवादुङमा गाउँपालिकामा गठबन्धन टुटेको छ ।

सत्तारुढ गठबन्धनको जिल्लास्तरीय संयन्त्रले मंगलबार गरेको सिट बाँडफाँटको निर्णयअनुसार यस गाउँपालिकामा नेकपा माओवादी केन्द्रलाई अध्यक्ष र उपाध्यक्ष कांग्रेसलाई दिने सहमति भएको थियो । तर, वडाअध्यक्ष बाँडफाँटमा कुरा नमिलेपछि एक्लाएक्लै भिड्ने भन्दै दुवै दलले गठबन्धन तोडेका छन् ।

गाउँ कार्य समिति कांग्रेसका अध्यक्ष मनोज कार्की र माओवादी अध्यक्ष सन्तोष मुक्मिन राईले संयुक्त विज्ञप्ति निकालेर पौवादुङमामा गठबन्धन नगरी आ-आफ्ना दलबाट उम्मेदवार मनोनयन गर्ने निर्णय गरिएको जिल्लाको गठबन्धन संयन्त्रलाई जानकारी गराएका छन् ।

स्रोतका अनुसार ६ वटा वडा रहेको यस पालिकामा माओवादीले ३ वटा वडा दाबी गरेको थियो । गाउँपालिका अध्यक्ष नै माओवादीलाई दिएपछि वडाध्यक्षमा कांग्रेस बढी भाग लिन चाहन्थ्यो ।

एमाले बलियो रहेको ठूलोदुम्मामा माओवादी र कांग्रेस दुवैले एकले अर्कोलाई छोडाछोड गरे । यहाँ दुवै मिल्दा पनि एमालेलाई जित्न नसकिने उनीहरूको निष्कर्ष छ । यता कांग्रेसले दाबी गरेको तिवारीभञ्ज्याङ र सानोदुङमामा पनि माओवादीले नछाडेपछि खटपट सुरू भएको थियो ।

२०७४ को चुनावमा पौवादुङमामा नेकपा एमालेबाट किरण राई १२९ मतान्तरले विजयी भएका थिए । किरणले १९६३ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका नगेन्द्रबहादुर भुजेल ‘शैलेन्द्र’ ले १८३४ मत प्राप्त गरेका थिए । कांग्रेसबाट अध्यक्षमा उठेकी सिसिरा राई १४५२ मत ल्याएर तेस्रो भएकी थिइन् । यहाँ उपाध्यक्ष भने माओवादीकी सम्झना राईले जितेकी थिइन् ।

यसपटक एमालेबाट अहिलेका अध्यक्ष किरण राई, ज्योत्सना राई, केशर राई, कांग्रेसबाट मनोज कार्की साथै माओवादीबाट नगेन्द्र भुजेल प्रमुख दाबेदारमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर