हुम्लाकाे अदानचुली गाउँपालिका अध्यक्षमा एमालेबाट पत्रकार महतारासहित ७ जना सिफारिस – Nepal Press

हुम्लाकाे अदानचुली गाउँपालिका अध्यक्षमा एमालेबाट पत्रकार महतारासहित ७ जना सिफारिस

सुर्खेत । नेकपा एमाले अदानचुली गाउँ कमिटीले वरिष्ठ पत्रकार नवराज महतारासहित ७ जनाको नाम गाउँपालिकाअध्यक्षमा सिफारिस गरेको छ ।

हुम्लाकाे एमाले अदानचुली गाउँ कमिटीका अध्यक्ष बुध भण्डारीले आफूसँगै लामो समयदेखि पत्रकारिता र एमालेको राजनीतिमा सक्रिय महतारासहित सात जनाकाे नाम जिल्ला कमिटीमा सिफारिस गरिएकाे जानकारी दिए । जसअनुसार गाउँपालिकाकी वर्तमान उपाध्यक्ष सौमती रावल, प्रदेश कमिटी सदस्यद्वय विष्णु बुढा र धन्जे परियार, जिल्ला अध्यक्ष कलबहादुर हमाल र केन्द्रीय सल्लाहकार सदस्य रामबहादुर दानीको नामसमेत जिल्ला कमिटीमा सिफारिस गरिएकाे छ ।

उम्मेदवारहरुकाे टुंगाे लगाउन अहिले सदरमुकाम सिमकोटमा कार्यदलको बैठक बसिरहेको छ ।

एमाले जिल्ला कमिटी सदस्यसमेत रहेका पत्रकार महताराले विसं २०६० को दशकदेखि पत्रकारिता सुरु गरेका थिए । महताराले नेपालको पहिलो सामुदायिक रेडियो सगरमाथा एफएमदेखि राष्टिय समाचार समिति (रासस), कान्तिपुर, अन्नपूर्ण पाेस्ट राष्टिय दैनिक पत्रिकामा काम गरिसकेका छन् । उनले २०६८ सालमा एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र हुम्लामार्फत सामूहिक लगानीमा ‘रेडियो कर्णाली आवाज’ एफएम रेडियो सञ्चालनमा ल्याएका थिए ।

उनले निरक्षर महिलाहरुलाई साक्षर बनाउन जिल्ला शिक्षा कार्यालयको समन्वयमा खुला गृहिणी विद्यालय स्थापना गरी सञ्चालनमा समेत ल्याएका थिए । उक्त विद्यालयमा अध्ययन गरेका केही गृहिणी महिलाहरु अहिले राज्यका विभिन्न निकायमा पुग्न सफल भएका छन् । पत्रकार महताराले हुम्ला सदरमुकामबाट करिब ४४ कोस टाढा आफ्नै गाउँपालिकामा २०७३ सालमा रेडियो श्रीनगर स्थापना गरी सञ्चालनमा ल्याए ।

गाउँपालिकाले सिफारिस गरेका ७ जनामध्ये महतारा बलियो उम्मेदवार रहेको एमालेका केही नेताहरु बताउँछन् । पत्रकारिता र कानुनमा स्नातकाेत्तर महतारा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य तथा कर्णाली अञ्चल इन्चार्ज रहिसकेका छन् । अहिले उनी प्रेस चौतारी नेपाल अनुसासन आयोगकाे केन्द्रीय अध्यक्ष हुन् ।

बैशाख ३० को निवार्चनमा कर्णाली प्रदेशका ६ जना पत्रकार विभिन्न राजनीतिक दलबाट उम्मेदवारमा सिफारिस भैसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर