गठबन्धनको भागबण्डामा निधिको आपत्ति, मधेशमा कांग्रेस सिध्याउने षड्यन्त्र भएको आरोप – Nepal Press

गठबन्धनको भागबण्डामा निधिको आपत्ति, मधेशमा कांग्रेस सिध्याउने षड्यन्त्र भएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति विमलेन्द्र निधिले मधेशमा नेपाली कांग्रेस सिध्याउने षडयन्त्र भएको आरोप लगाएका छन् ।
सत्तारुढ ५ दलीय गठबन्धनले महानगर र उपमहानगरको नेतृत्वबारे गरेको भागबण्डाप्रति लक्षित गर्दै नेता निधिले मधेशमा कांग्रेस सिध्याउने प्रयास भएकोतर्फ सचेत रहन आग्रह गरेका हुन् ।
सत्ता गठबन्धनले आज गरेको सहमतिअनुसार मधेश प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाको प्रमुख जसपाले पाउने भएको छ ।
त्यस्तै जनकपुर उपमहानगरपालिकाको नेतृत्व पनि जसपाले पाउने भएको छ । मधेशका महत्त्वपूर्ण महानगर र उपमहानगरको नेतृत्व सुम्पिनुले कांग्रेसलाई कमजोर बनाउने निधिको भनाई छ ।
‘गठबन्धनको नाममा जे निर्णय भयो त्यो आत्मघाती छ । मधेशमा कांग्रेसलाई सिध्याउने षड्यन्त्रअनुसार यो काम भएको छ । पार्टी निर्णय र कार्यकर्ताको भावना विपरीत गरिएको निर्णय सच्चिएन भने कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ’, निधिले नेपाल प्रेससँग भने ।
उनले कांग्रेसको आधार भूमिका रूपमा रहेको मधेश प्रदेश जसपालाई जिम्मा लगाउने गरी गठबन्धनले निर्णय गरेको आरोप लगाए ।
‘मधेशमा कांग्रेसलाई कमजोर बनाउने र जसपालाई बलियो बनाउने काम भएको छ । गठबन्धनको भागबण्डा अराजनीतिक र कांग्रेसविरुद्ध छ’, निधिले भने ।
उनले गठबन्धनका नाममा गरिएको भागबण्डाले मधेशसँगै देशका अन्य प्रदेशका नेता कार्यकर्ताहरूको पनि योगदानको अवमूल्यन गरेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

One thought on “गठबन्धनको भागबण्डामा निधिको आपत्ति, मधेशमा कांग्रेस सिध्याउने षड्यन्त्र भएको आरोप

  1. हिजो महाधिवेशन मा तीम्रा आँखा ले नदेखेको , दीमागले काम नगर्दाको परीणाममा आज भोग्दा मन दुख्यो रे !!! सानो सोचाइको परीणाम जनकपुर बाट बीदाहुने अबस्थामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर