मेयर सिफारिसले गृहमन्त्री खाणको क्षेत्रमा खैलाबैला, कांग्रेस नेता यादवले पार्टी छाडे – Nepal Press

मेयर सिफारिसले गृहमन्त्री खाणको क्षेत्रमा खैलाबैला, कांग्रेस नेता यादवले पार्टी छाडे

रुपन्देही । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणको निर्वाचन क्षेत्र कांग्रेस क्षेत्र नम्बर ३ का निवर्तमान सभापति मात्रिकाप्रसाद यादवले पार्टी छाडेका छन् ।

कांग्रेसबाट सिद्धार्थनगर नगरपालिकाको उम्मेदवारको आकांक्षीसमेत रहेका यादवले पार्टीको साधारण सदस्य समेत नरहने गरी परित्याग गरेको घोषणा गरेका हुन् । संस्थापनइतर समूहमा रहेका यादवले एकलौटी रूपमा कांग्रेस नगर समितिले मेयर पदको उम्मेदवार सिफारिस गरेकोप्रति असन्तुष्टि जनाए ।

मेयर पदका ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि हचुवाको भरमा एकजनाको मात्र नाम सिफारिस गर्नु गलत भएको उनले बताए ।

यादवले भने, ‘हामी ४० वर्षदेखि कांग्रेसमा आबद्ध छौं, तर हिजो आएका नयाँ मान्छेलाई एकलौटी रूपमा मेयर पदको उम्मेदवारमा सिफारिस गरियो, यो गलत हो ।’

गत स्थानीय तहको निर्वाचनमा पनि सिद्धार्थनगर नगरपालिकाको प्रमुख पदको उम्मेदवार भइ उनी पराजित भएका थिए । पार्टीको क्षेत्रीय अधिवेशनमा पनि उनी क्षेत्रीय सभापति पदमा पराजित भए ।

मंगलबार नेपाली कांग्रेसले सिद्धार्थनगरमा इस्तियाक अहमद खानलाई मेयरमा सिफारिस गरेको थियो । नेता खाण रुपन्देही आएकै समयमा सो क्षेत्रका प्रभावशाली नेता यादवले पार्टी छोड्नु अर्थपूर्ण रहेको पार्टी पंतिमा चर्चा चलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर