हुरीले छानो उडाउँदा एकसातादेखि विद्यार्थीको बिचल्ली – Nepal Press

हुरीले छानो उडाउँदा एकसातादेखि विद्यार्थीको बिचल्ली

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । एक साता अघि आएको हावाहुरीले छानो उडाएपछि विद्यालयको पठनपाठन समेत ठप्प छ ।

गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाले बताए ।  तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदै आएको विद्यालयमा अहिले विद्यार्थी घाममा बसेर परीक्षा दिन बाध्य भएका छन् । ‘परीक्षासमेत प्रभावित भएको छ, नियमित कक्षा सञ्चालन गर्न समस्या छ’, उनले भने ।   कक्षा ४, ५र ६ का विद्यार्थी छाप्रोमा पढ्नुपर्ने अवस्था रहेकाे छ ।

विसं २०२८ मा स्थापना भएको उक्त विद्यालयको भवन जीर्ण छ । पुरानो भवन भत्काएर नयाँ निर्माण गरिँदै छ । विद्यालय भवन निर्माण पूरा नहुँदा पठनपाठनमा बाधा पुगेको प्रधानाध्यापक राणाको भनाइ छ ।

गत कात्तिकमा भवन भत्काएर नयाँ निर्माण थालिएको छ । ‘छाया नेपाल’ले सँगसँगै निर्माण थालेको तुलसीपुर–७ कालाखोलास्थित भवनको काम अन्तिम चरणमा पुगेको छ तर, अम्बासको भवन निर्माणको काम भने सुस्त गतिमा छ ।

असार मसान्तसम्म निर्माण सक्ने गरी सम्झौता भए पनि विद्यार्थीको पठनपाठनलाई मध्यनजर गरी छिट्टै पूरा गर्ने गरी अगाडि बढ्ने आश्वासन पाएको प्रअ राणाले बताए । एक करोड ४३ लाखको लागतमा आठ कोठाको भवन निर्माण गरिँदै छ ।

कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा हाल २४५ विद्यार्थी अध्ययनरत  छन् भने  १४ शिक्षक कर्मचारी कार्यरत  रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर