पल शाहको मुद्दामा पीडितका बुवा पनि होस्टाइल, अरूले उकासेर जाहेरी दिन गएको जिकिर – Nepal Press

पल शाहको मुद्दामा पीडितका बुवा पनि होस्टाइल, अरूले उकासेर जाहेरी दिन गएको जिकिर

काठमाडौं । अभिनेता पल शाहीविरुद्द जबरजस्ती करणीको आरोपमा जाहेरी दिएका पीडित नाबालिगका बुवाले पनि अदालतमा बयान फेरेका छन् ।

जिल्ला अदालत तनहुँमा आज बकपत्र गर्ने क्रममा उनले आफूले दिएको जाहेरीमा उल्लेखित विवरण सत्य नभएको बताएका हुन् ।

पीडित भनिएकी नाबालिग गायिका होस्टाइल भएपछि उनले आइतबार अदालतमा बयान फेरेकी थिइन् । उनले अरूको उक्साहटमा आफूले झूटो जाहेरी दिएको बताएकी छन् । आज उनका बुवाले पनि त्यस्तै ब्यहोराको बकपत्र गरेका हुन् ।

पलको पक्षबाट मुद्दा लडिरहेका वकिल कमला मोहन वाग्लेले पीडितका बुवाले पनि होस्टाइल भएर बकपत्र गरेको बताए ।

बकपत्रको ब्यहोरा उद्धृत गर्दै उनले भने, ‘म स्वयम्लाई सामाजिक सञ्जालहरूमार्फत दबाबमा पारेर झूटो जाहेरी दिन लगाइएको थियो । त्यो कुरा मैले पछि मात्रै थाहा पाएँ । जाहेरीमा भएको जस्तो वारदात केही भएको होइन ।’

‘पीडित’ का बुवाले आफूलाई दबाब दिएको भनेर केही व्यक्तिहरूको नामसमेत लिएका छन् ।

अधिवक्ता वाग्लेले अभिनेता पललाई अदालतले सफाइ दिन सक्ने सम्भावना बढेको बताए । यद्यपि, बकपत्रभन्दा बाहेक भौतिक प्रमाणलाई हेरेर न्यायाधीशले निर्णय लिन सक्ने उनको स्वीकारोक्ति छ ।

‘अदालतले भौतिक प्रमाणलाई आधार बनाएर पनि न्याय निरूपण गर्न सक्छ । तर यो मुद्दामा भौतिक प्रमाण पर्याप्त छैनन् । जबरजस्ती करणी भएको थियो भने केटा र केटीबीच झगडा हुने, एकले अर्कालाई पिट्ने, कराउने, लुगा च्यातिने आदि हुनुपर्थ्यो । त्यस्तो नभएको हुँदा अदालतले हाम्रो पक्षमा फैसला गर्ने आशा छ,’ उनले भने ।

वाग्लेले भौतिक प्रमाण नभएको दाबी गरे पनि पल स्वयम्ले गायिकासँग सम्बन्ध राखेको स्वीकारोक्तिको अडियो अदालतमा सुरक्षित छ । उक्त अडिओमा भएको आवाज पलकै भएको पुष्टि भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर