जसपा रुपन्देहीः कतै एक्लै भिड्ने, कतै गठबन्धन बाहिरका दलसँग मिल्ने – Nepal Press

जसपा रुपन्देहीः कतै एक्लै भिड्ने, कतै गठबन्धन बाहिरका दलसँग मिल्ने

रूपन्देही । सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा) जिल्ला समन्वय समिति रुपन्देहीले आवश्यकताअनुसार गठबन्धन बाहिरका दलसँग पनि सहकार्य हुनसक्ने निष्कर्ष निकालेको छ ।

स्थानीय तहका नेता कार्यकर्ताको चाहना र आवश्यकताअनुसार निर्वाचनमा पाँचदलीय गठबन्धन बाहिरका दलसँग पनि सहकार्य गरेर अगाडि बढ्न सकिने जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादवले बताए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा जसपाले जितेको र पाएको मतपरिणाम अनुसार नेपाली कांग्रेसले सो स्थानमा जसपालाई दिन नमानेकाले केही पालिकामा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने यादवले जानकारी दिए । उनले भने, ‘आवश्यकताअनुसार पाँचदलीय गठबन्धनबाट साझा उम्मेदवार चयन हुन्छ, नभए एक्ला–एक्लै मित्रवत रुपमा प्रतिस्पर्धा गर्छौं ।’

जसपा रुपन्देहीको पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीय परिषद् सदस्य, प्रदेश सदस्यको सहभागितामा मंगलबार भैरहवामा भएको बैठकले स्थानीय तहको निर्वाचनका लागि बुधबार सांझसम्म उम्मेदवार सिफारिस गरी पठाउनुपर्ने निर्णय गरेको छ ।

जिल्ला समन्वय समितिले आवश्यक निर्णय गरेर सर्वसम्मत हुन नसकेको पालिकारवडाको उम्मेदवारका लागि वैशाख ९ गते प्रदेश समितिमा पठाउने जसपा रुपन्देहीका अध्यक्ष यादवले जानकारी दिए ।

जसपा लुम्बिनीका प्रदेश समिति सदस्य उज्जवल पोखरेलले आवश्यकता अनुसार जुन दलसँग पनि पार्टीले गठबन्धन गरेर निर्वाचनमा सहभागी हुनसक्ने बताए ।

जसपाले यसअघि भैरहवामा गठबन्धन नहुने जनाइसकेको छ भने दक्षिणी क्षेत्रमा रहेका थप ६ वटा पालिकामा गठबन्धनमै रहेका दलहरू सबै प्रतिस्पर्धामा जाने सहमति गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर